मुसिकोट गुल्मी; गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको छ । मङ्गलबार जेन जी समूहले नाराबाजी गर्दै प्रवेशद्वारको मुख्य ढोका फोरेर नगरपालिकामा प्रवेश गरी नाराबाजीसङ्गै ज्ञापन पत्र बुझाएर ताला लगाएका थिए ।
नगरपालिकाको भवनमा ताला लगाएर जेन जेड समूहले चाबी कब्जामा लिएपछि बुधबार सम्पूर्ण कर्मचारी दिनभर भवन परिसरमा बसेर बिताएका छन् । भवनमा ताला लागेपछि बुधबारको सम्पूर्ण प्रशासनिक काम पूर्ण रुपमा प्रभावित भएको प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो ।
नगरपालिकाका कर्मचारी कार्यालयमा उपस्थित भएपनि सेवाग्राही भने कोही पनि सेवा लिन नआएको योजना शाखा प्रमुख विष्णु खरेलले बताउनुभयो । भवनमा लगाइएको ताल्चा खोल्नको लागि जेन जेड समूहसँग प्रयत्न गरिरहेको प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।
मङ्गलबार नाराबाजी गर्दै नगरपालिकाको भवनमा जेन जेड समूहले ताल्चा लगाएपनि बुधबार भने वामीटक्सार बजारमा सरसफाई अभियानमा थियो । समूहका सदस्य आयुष विश्वकर्माले ताल्चा लगाउनु मात्र समस्याको समाधान नरहेकोले वार्तामार्फत मार्गप्रशस्त गर्न चाहेको जानकारी दिनुभयो ।
जेन जेड समुहका केहि सदस्यले भने आफ्ना मागहरु पूरा नभएसम्म ताल्चा नखोल्ने जनाएका छन् ।नगरपालिकाले अहिले नगरप्रमुख नआएसम्म वार्ता र माग पुरा हुन असम्भव रहेको प्रतिक्रिया दिएको छ ।



