त्रिभुवन नमुना माध्यमिक विद्यालयकोे ६५ औँ बार्षिकोत्सव सम्पन्न

गुल्मी । त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका-२ खर्बाङ बागलुङले आफ्नो स्थापनाको ६५ औँ जन्मोत्सव एवम् अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।

विद्यायलले विद्यार्थीहरुबीच आन्तरिक विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगीतासंगै औपचारिक कार्यक्रम सहित भव्य रुपमा आफ्नो जन्मोत्सव मनाएको हो । बुधबार सम्पन्न समापन समारोहमा प्रमुख अतिथि एवम् गण्डकी प्रदेश सभा उपसभामुख बिना थापाले विद्यालयले हालसम्म हासिल गरेका उपलब्धीहरुलाई जोगाई राख्दै यो गरिमालाई अझै उच्च बनाउन आग्रह गर्नुभयो । त्रिभुवनबाट उत्पादन भएका जनशक्तिहरु विभिन्न क्षेत्रमा अब्बल रहेको भन्दै उहाँले प्रदेशबाट हुन सक्ने सहयोगका लागि आफुले सदैव पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशेष अतिथि बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले त्रिभुवन नमुना मा.वि. गाउँपालिकाकै एउटा गरिमा रहेको भन्दै शिक्षण सिकाई क्रियाकलाप सहित अतिरिक्त क्रियाकलाप तथा प्रशाशनिक व्यवस्थापन अन्य विद्यालयले समेत अनुसरण गर्नुसक्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयले सर्वाङ्गीण क्षेत्रमा प्राप्त गरेको उपलब्धी उदाहरणीय रहेको धारणा राख्नुभयो । बडिगाड गाउँपालिकाले पढ्‌दै कमाउँदै कार्यक्रम सहित एक विद्यालय एक करेसाबारी लगायत अन्य सीपमूलक र व्यवहारिक शिक्षालाई जोड् दिँदै नीति कार्यक्रम बनाएको उहाँको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारीले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले अधिकतम शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने गरी प्रयत्न गरीरहेको भन्दै अभिभावक र सरोकारवाला सबैको रचनात्मक सुझावको अपेक्षा समेत गर्नुभयो । उहाँले विद्यालयमा हाल ११ सय ८५ जना विद्यार्थी अध्ययनरत रहेको भन्दै ५८ जना शिक्षक कर्मचारी रहेको जानकारी समेत दिनुभयो । भण्डारीले कक्षा १-१२ अग्रेंजी र नेपाली माध्यम, कक्षा ९-१२ प्राविधिक धारतर्फ बाली विज्ञान र कक्षा ११-१२ मा विज्ञान विषय अध्यापन भईरहेको बताउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन वन, वडा नं.२ का वडाध्यक्ष ढाल प्रसाद शेरचन, वडा नं १ का वडाध्यक्ष बोम बहादुर थापा, विभिन्न पार्टीका प्रमुख एवम् प्रतिनिधि, विभिन्न विद्यालयका प्र.अ. शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयले पौष ७ गतेदेखि १० गतेसम्म विभिन्न आन्तरिक कार्यक्रम सहित बार्षिकोत्सव मनाएको हो । ती प्रतियोगीताहरुमा उत्कृष्ट हुने खेलाडी तथा प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद भुसालले विद्यालयको साखलाई जोगाईराख्न शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबै दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो ।

बार्षिकोत्सव कार्यक्रमको सुरुवातमा प्रभातफेरी सहित खर्बाङ र हाँडिखोला बजार परिक्रममा गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नौमती बाजा प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले उत्पादन गरेको च्याउ बिक्रीका लागि राखिएको थियो । सो अवसरमा मार्चपास, कबड्डी फाईनल, छात्र/छात्रा भलिबल फाईनल सहित विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु समेत सम्पन्न गरिएको छ ।

विद्यार्थीहरुले विभिन्न जातजाति, भुगोल र सम्प्रदाय झल्किने विभिन्न सांस्कृतिक प्रस्तुतीहरु सहितका नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन सहित पुरस्कृत गरिएको थियो । भने विभिन्न प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुने प्रतियोगी समुह एवम् विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शिव पोखरल, विद्यार्थीको तर्फबाट गृष्मा गिरीको स्वागत मन्तव्य एवम् शिक्षक कमल पौड्‌यालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय