सुमन महतारा – गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्धाटन भएको ३ महिना बित्न लाग्दा समेत पूणर् रुपमा सञ्चालन हुने सकेको छैन । तर भवनको यस अगाडी नै उद्घाटन गरिएको थियो ।
गत मंसिर २० गते तामझामका साथ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले भवनको उद्घाटन गरेका थिए । भवन उद्धाटनमा हतार देखाएको नगरपालिकाले पूणर् रुपमा निर्माण सम्पन्न गरि आफ्नै भवनबाट सेवा दिन भने नसकेको हो ।
निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको नगरपालिकाको नयाँ प्रशासकीय भवनमा हाल नगरप्रमुख र नगरउपप्रमुखको कार्यकक्ष मात्रै निर्माण गरिएको छ । उद्घाटनको दिन हतारमा कर्मचारीहरुले नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष निर्माण गरेका थिए । तर जनतालाई प्रशाशकीय सेवा दिने गरी नयाँ भवन भने प्रयोगमा आउन सकेको छैन ।
नयाँ भवन पूणर् रुपमा निर्माण सम्पन्न भई नसकेकाले सेवा प्रवाह पुरानै भाडाको घरबाट दिइदै आएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए । केही नियमित कामहरु हुदै गरेका कारण सर्न ढिलाई भएको बताए ।
नयाँ प्रशासकीय भवनबाट पूरा सेवा पाउन अझै कति समय लाग्ला ? भन्ने बारेमा बुझ्न नगरप्रमुख जीवन खरेललाई फोन सम्पर्क गर्दा उनको फोन भने उठेन । नगरपालिकाले हाल मासिक रुपमा ६२ हजार भाडा तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ ।