नक्कली विद्यार्थीको उजुरी पछि मुसिकोटको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता विवादमा !

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा जारी नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा विवाद सिर्जना भएको छ । विवादपछि प्रतियोगीता सम्पन्न हुन सकेको छैन ।

नगर खेलकुद विकास समितिको कार्यतालिका अनुसार माघ ८,९ र १० गते कार्यक्रम तय गरिएको थियो । फर्जी विद्यार्थी खेलमा समावेश गरेको भन्दै विरोध भएपछि खेलमा विवाद सिर्जना भएको हो । वडा नं ६ स्थित त्रिभुवन माध्यमिक विद्यालयले विभिन्न खेलमा सहभागी गराएको ३ खेलाडी विद्यार्थीहरुकाबीच विवाद उत्पन्न भएको हो ।

उक्त विद्यालयले एथलेटिक्स तर्फ सहभागी गराएका खेलाडीहरु दर्शन बि.क, सुजन चौधरी र अनिल सुनार अन्य विद्यालयका विद्यार्थी रहेको भन्दै उजुरी परेपछि विवादको स्थिति सिर्जना भएको हो । उक्त विद्यालयले फर्जी विद्यार्थी सहभागी गराएको भन्दै महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयले उजुरी दिएपश्चात प्रतियोगीतामा विवाद उत्पन्न भएको हो ।

उत्पन्न विवादले माघ १० गते कार्यक्रम सम्पन्न हुन सकेन । महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका एक शिक्षकले दिएको जानकारी अनुसार राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिलाई विद्यालयले फर्जी विद्यार्थीको प्रमाण सहित उजुरी पेश गरेको थियो । समितिको निणर्बमोजिम रनिङ शिल्ड सञ्चालन गर्ने र उजुरी उपर सम्बन्धित विद्यालयसंग छानविन गर्ने सहमतीबीच प्रतियोगीता सञ्चालन भएको थियो । तर कुनै प्रकारको निष्कर्ष या चित्तबुझ्दो प्रमाण नभएपछि प्रतियोगीता सम्पन्न हुन नसकेको हो ।

मुसिकोट नगरपालिकाले माघ ५ गते नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालन निर्देशिका बमोजिम खेलाडीहरुको सहभागी फारम सहित विद्यालयले प्रतियोगीतामा सहभागी गराउने विद्यार्थीहरुको विवरण मागेको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीका अनुसार विद्यार्थीको जन्मदर्ता, प्रधानाध्यापकको हस्ताक्षर सहितको फारम सहित खेल सञ्चालन गरेपनि खेलाडीको नाम फरक परेपश्चात विवादको स्थिति सिर्जना भएको हो ।

मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीका अनुसार महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयले दिएको उजुरी उपर त्रिभुवन माध्यमिक विद्यालयलाई विद्यार्थीसंग सम्बन्धित प्रमाण पेश गर्न अनुरोध गरेपनि समयमै प्रमाण पेश नगरेपश्चात प्रतियागीता सम्पन्न हुन नसकेको बताउनुभयो ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु हुन् या होईनन् भन्ने यथेष्ट प्रमाण प्राप्त नभएपश्चात खेलहरुको नतिजा समेत सार्वजनिक हुन सकेको छैन । आईतबार दुवै विद्यालयका प्रधानाध्यापक र राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिबीच बैठक रहेको र बैठकबाट केही निष्कर्ष निस्कने नेपालीको भनाई छ । भोलिको बैठकमा खेलाडीहरुको पारिवारिक र वैयक्तिक विवरण समेतलाई आधार मानी छलफल हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय