काठमाडौं -नेकपाका प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेको बताएका छन्।

उनले ओलीले नेपालको इतिहासमा एउटा कलंकको रुपमा स्थापित गरेको र कालो दिनको रुपमा रहेको बताएका छन्। उनले निरंकुश कदम असफल हुने विश्वास व्यक्त गरे। उनले संविधानविपरीत प्रतिनिधिसभा विघटन हुनु लोकतन्त्रको हत्याका रूपमा पनि बताए।
‘निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ,’ काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रचण्डले भने, ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक र निरंकुशता झल्कने प्रष्ट संकेत साथ प्रतिनिधिसभा विघटन गरिएको छ। त्यतिबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्री गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो।’
प्रतिनिधिसभा विघटनविरूद्ध अदालतमा मुद्दा रहेको भन्दै अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्ने फैसला गर्ने विश्वास उनले गरेका छन्। उनले आज प्रधानमन्त्रीको कदमविरूद्ध प्रदर्शन गरेको उल्लेख गर्दै अझै शशक्त आन्दोलनमा जानुपर्ने अवस्था रहेको बताएका छन्।
नेपाली कांग्रेस र जसपासँग पनि सहकार्य गरी संयुक्त रूपमा आन्दोलनमा जाने उनले बताए। उनले आफू पक्षमा दुई सय ९५ जना केन्द्रीय सदस्य रहेको प्रमाण हस्ताक्षर आज निर्वाचन आयोगमा बुझाएको पनि बताएका छन्।
ओली पक्षले एक सय जना केन्द्रीय सदस्य भेला गरेर ११ सय केन्द्रीय सदस्य भइयो भनेर अनैतिक र लज्जास्पद काम गरेको उनले आरोप लगाए।