मुसिकोटमा गोरु पाल्ने किसानलाई हलो उपहार !

गुल्मी । बिरलै गरिने सम्मान । किसानलाई हलो उपहार । सोमबार मुसिकोट नगरपालिका-८ का कृषक ४७ बर्षीय हिरा बहादुर नेपालीले हलो उपहार पाए । उनले १५ बर्षदेखि गोरु पाल्छन् । उनले छिमेकी चार जना धनश्याम सापकोटा, भक्त केसी, गुञ्ज बहादुर केसी र कृष्ण विकको खेतबारी समेत ठेक्कामा काम गरेका छन् । छिमेकीहरु बसाई सरेर वामी र तराई झरे ।

हातमा बल र सीप भएका नेपालीले धान, मकै र गहुँ तीन बाली भित्राउँछन् । आफ्नो काम सकेर गाउँमा पनि गोरु पुराउँछन् । एक हल गोरु र हलीको एक हजार पाँच सय रुपैयाँ पारिश्रमीक छ । गाउँमा गोरु पाल्नेहरु निकै कम हुँदै गएको बेला वडाले गरेको सम्मानले उर्जा मिलेको नेपालीले बताए । ‘गाउँमा मेसिन नपुग्ने खेतबारी बाँझै बसे । बडो मुस्किलले गोरु पाइन्छ,’उनले भने,‘जनशक्ति नहुँदा हलो पनि पाइँदैन् ।’

मान्छे बर्षेनी दोब्बर संख्यामा पहाडबाट बसाइसराई सरेर मधेश झरेका छन् । गुल्मीका ग्रामीण बस्तीहरुमा मान्छे बस्नेभन्दा नबस्ने घरहरु धेरै हुन थालेका छन् । मलिला खेत र बारीहरु बाँझिदै गएपछि हरियाली देखिने पखेराहरु पनि उराठ छन् । जिल्लाबाट सवैभन्दा बढि युरोप छिर्ने स्थानीय तह मुसिकोट हो । तर, मुसिकोट नगरपालिका–८ ले वडाले कृषि कर्म गरिरहेकाहरुलाई प्रोत्साहन गर्न गोरु पाल्ने किसानहरुलाई हलो उपहार प्रदान गरेको छ ।

मुसिकोट नगरपालिका–८ का ४० जना किसानहरुलाई हलो, फाली, कराह र क्याल्सियम प्रदान गरिएको मुसिकोट नगरपालिका वडा नं ८ का वडा सचिव प्रदिप पौडेलले जानकारी दिए । गाउँमा व्यावसायीक खेती गर्नेभन्दा जिविकोपार्जनकै लागि कृषि कर्म गर्नेहरु बढि छन् । धेरैले गोरु पाल्न छोडे । गाउँमा टयाक्टर वा मेसिनको कम प्रयोग गरिन्छ । जोत्ने गोरुहरुको अभाव किसानहरुले झेलिरहेका छन् । जसका कारण गोरु पाल्ने किसानहरुको सम्मानका लागि हलो प्रदान गरिएको वडाध्यक्ष रमेश विकले बताए ।

मुसिकोट नगरपालिकाले कृषि, पर्यटन र उद्योगलाई प्रमुख समृद्धिको आधार मानेको छ । जसका लागि व्यावसायीक कृषि गर्ने किसानहरुलाई अनुदान, प्रविधी सहयोग र सीप विकास मार्फत उद्यम सृजनाका काम गरिरहेको छ । भने पर्यटन पुर्वाधार निर्माणमा पनि नगरले जोड दिइरहेको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए । खरेलले यो बर्षबाट बाँझो रहेका जग्गा भूमि बैक स्थापना नगरले लिएर काम गर्ने युवा उद्यमीहरुलाई हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

त्यस्तै नगरले बजारीकरण तर्फ कृषि उपजको बिक्री सुनिश्चिता गर्न इकाई स्थापना र मुल्य तोकेर कृषकको बजारमा नबिकेका कृषि उपज खरिद गरेर किसानलाई घाटाबाट जोगाउने काम पनि गरिरहेको खरेलले जानकारी दिए । उनले बिस्तारै नगरले आफै वा सहकारी मार्फत व्यावसायीक फर्महरु बनाएर कृषि मजदुर नियुक्त गर्ने र उत्पादन बृद्धि गर्ने तथा ठुलो प्लटमा काम गर्नेहरुलाई अनुदान सहयोग लगायतको कृषि योजना बनाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय