नेकपाभित्र फेरि पदको झगडा

प्रचण्ड नेकपाभित्र फेरि पदको झगडा, भीम रावलदेखि जनार्दन शर्मासम्म प्रतिस्पर्धी !
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा फेरि पदको झगडा सुरू भएको छ ।

तत्कालीन नेकपाका महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओली गुटतिर लागेपछि प्रचण्ड नेकपाले नयाँ महासचिव छान्नुपर्ने भएको छ । तर महासचिव कसलाई बनाउने भन्नेबारे झगडा र तानातान सुरू भएको छ ।

नयाँ प्रचण्ड समूहको महासचिवका लागि कम्तिमा पनि ४ जनाबीच प्रतिस्पर्धा रहेको देखिएको छ । महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा रहेपनि सर्वसम्मत हुनसक्ने देखिएको छैन ।

प्रचण्ड नेकपाका अध्यक्ष माधवकुमार नेपालले महासचिवमा भीम रावलको नाम अगाडि बढाएका छन् । रावल नभए बेदुराम भुसाललाई पनि महासचिव बनाउन सकिने नेता नेपालको अडान छ ।

अध्यक्ष प्रचण्डले भने वर्षमान पुन वा जनार्दन शर्मामध्ये १ जनालाई महासचिव बनाउनुपर्ने इच्छा जाहेर गरेका छन् । वरिष्ठ नेता झलनाथ खनालको रोजाइमा सुरेन्द्र पाण्डे रहेका छन् । यसरी ३ नेताका महासचिव पदका आकांक्षी अनेक भएपछि प्रचण्ड नेकपाभित्र रस्साकस्सी सुरू भएको छ ।

प्रचण्ड नेकपामा पहिलो नम्बरका वरिष्ठ नेता झलनाथ खनाललाई छाडेर दोस्रो नम्बरका माधव नेपाललाई अध्यक्ष बनाइएकाले महासचिवमा खनालको रोजाइ छनौट हुने सम्भावना बढी रहेको स्रोतले जनाएको छ ।

‘झलनाथ कमरेडले आफूभन्दा पछिको दोस्रो वरियतामा रहेका नेपाललाई अध्यक्ष मान्नुभएको छ । महासचिवमा उहाँले भनेको व्यक्ति हुने सम्भावना बढी छ,’ नेकपाका एक नेताले भने ।

प्रचण्ड–नेपाल समूहले मंगलबार केन्द्रीय कमिटी बैठक गरेर ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाइसकेको छ । आज बुधवार बसेको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नयाँ दल नेता चुनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय