वामीमा निःशुल्क मधुमेह परिक्षण शिविर सम्पन्न,१६६ जनाको मधुमेह परिक्षण

गुल्मी । लियो क्लव अफ गुल्मी सालिमेको आयोजनामा मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारमा निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ ।

शनिवार निर्माणाधिन स्मार्ट पार्कमा सम्पन्न शिविरको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले ९६ वर्षीय बयोवृद्ध लालचन श्रेष्ठको रक्तचाप परिक्षण गरी उद्घाटन गर्नुभएको थियो । पछिल्लो समय समाजमा मधुमेह अर्थात सुगर रोगका बिरामीहरु बढ्दै गईरहेको अवस्थालाई दृष्टिगत गरी सचेतना सहित परीक्षण शिविर आयोजना गरिएको क्लवले जनाएको छ ।

शिविरमा मुसिकोट नगरपालिका वडा नं ७, ८, ९ र २ का १ सय ६६ जनाको मधुमेह परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये केही मधुमेहका पहिले देखिका बिरामी रहेको र २५ जना नयाँ बिरामी भेटिएको डा.महम्मद ईराज अहम्मदले जानकारी दिनुभयो । डा. अहम्मदले शिविरमा आएका लाभग्राहीहरुलाई मधुमेह रोग र यसबाट बँच्न के गर्ने भन्ने विषयमा सचेतना समेत प्रदान गर्नुभएको थियो ।

नियमानुसार मधुमेह रोगको परीक्षण खाना खानु अघि र खाना खाएपछि गरी दुई पटक गर्नुपर्ने भएकाले दुई चरणमा मधुमेह परिक्षण गरिएको थियो ।

शिविरमा परिक्षणका लागि आउनुभएका मुसिकोट ७ का ६० वर्षीय बम बहादुर रानाले सुगर रोगबारे थाहा भएपनि अस्पतालसम्म जाँच गर्न जाने बानी नरहेको भन्दै क्लवले निशुल्क शिविर आयोजना गरि उक्त अवसर प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

मधुमेह रोगका बारेमा समयमै जानकारी भए रोकथाम गर्न सकिने भएकाले मधुमेह सचेतना जगाउने उद्धेश्यका साथ मधुमेहको निःशुल्क रगत परिक्षण शिविर आयोजना गरिएको क्लवका अध्यक्ष भुगोल सापकोटाले बताउनुभयो । उहाँले स्थापनाको छोटो समयमै क्लवले वामीटक्सार क्षेत्रमा थुप्रै सामाजिक कार्य गरेको भन्दै पछिल्लो समय स्वास्थ्य क्षेत्रमा केही गर्ने अभिप्राय बोकेर आयोजना गरिएको शिविरमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदातालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिविरलाई सम्पन्न गर्न सहयोग गर्ने लुम्बिनी वामी हस्पिटल सहित स्वास्थ्यकर्मी, मुसिकोट नगरपालिका स्वास्थ्य शाखा, वामी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र देश विदेशबाट आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

क्लवका प्रशाशकीय प्रमुख विवेक काफ्लेले क्लवले हालसम्म सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुमा स्वतस्फूर्त रुपमा सहयोग गर्ने सहयोगीदाताकै कारण कार्यक्रम सफल बनेको बताउनुभयो । उहाँले केही समय भित्रै पुन ः जाडो मौसम सुरु हुन लागेकाले गतवर्ष जस्तै यसवर्ष पनि न्यानो लुगा अभियान सञ्चालन गर्न लागिएको जानकारी समेत दिनुभयो ।

शिविरमा नगरप्रमुख खरेल सहित लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ पी, नेपालका डिस्ट्रीक डेपुटी चिफ लायन बिष्णु कुवर, वामी प्रहरी चौकीका ईन्चार्ज लक्ष्मण विश्वकर्मा, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

केही समय अगाडी स्थापना भएको क्ल्वले मुसिकोटमा सामाजिक उत्तरदायित्व र परोपकारी कार्य गर्दै आईरहेको छ । क्लवले स्थापना भएको केही दिनमै वामी बजार क्षेत्रलाई फोहोर व्यवस्थापनका निमिक्त बजारका विभिन्न स्थानमा डस्बिन राखेको थियो भने ठाउँ चिनाउने बोर्ड समेत राखेको थियो । त्यस्तै क्लवले सडक दुर्घटना कम गर्न सडक ऐना राख्ने, प्राकृतिक विपतमा परेकाहरुलाई आर्थिक सहयोग गर्ने, जाडो मौसममा न्यानो लुगा वितरण लगायतका थुप्रै महत्वपूणर् कामहरु सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय