आर्थिक अभावमा परेका तिन विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण

मुसिकोट । महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीमा अध्यनरत ३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न दाताहरुबाट प्राप्त सहयोग हस्तान्तरण गरिएको छ ।

आर्थिक अभावका कारण आफ्नो अध्ययनमा कठिनाई भईरहेका उनीहरुलाई विभिन्न सघंसंस्था तथा व्यक्तिहरुले पठाउनुभएको सहयोग मंगलबार विद्यालयमा पुगेर हस्तान्तरण गरिएको पहलकर्ता एवम् युवा समाजसेवी विवेक काफ्लेले जानकारी दिनुभयो ।

जसमध्ये तुल्सी रानालाई आईसीएस ईनटरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेस काठमाण्डौले कक्षा ११-१२ को अध्ययनका लागि बार्षिक १० हजारका दरले रु २० हजार सहयोग गरेको छ ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं ७ घर भई हाल जापानमा कार्यरत नारायण बोहोरा क्षेत्रीले कक्षा ७ मा अध्ययनरत प्रमिषा रानालाई नगद रु ११ हजार सहयोग गर्नुभएको छ । प्रमिसा अभिभावकविहिन बालिका हुन् । उनका बुबा आमा सम्पर्कमा नरहेको र मामा घरमा बसेर अध्ययन गर्दै आईरहेकी छिन् ।

 

त्यस्तै मुसिकोट नगरपालिका वडा नं ८ घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका कृष्ण प्रसाद खरालले कक्षा ६ मा अध्ययन गर्ने प्रकाश रानालाई नगद रु. १० हजार सहयोग गर्नुभएको छ । प्रकाशले केही वर्ष अगाडी बुबा गुमाएपश्चात अहिले घरमा एक्लै बस्दै आएका छन् । उनकी आमा समेत अर्कैको घरमा काम गर्ने र उतै बस्ने गर्दा उनी घरमा एक्लै भएका हुन् । बिहान बेलुकी घरको कामसंगै मजदुरी गरेर उनले दिउँसो विद्यालय पढ्दै आएका छन् ।

विदेशमा रहेर आफ्नो श्रम र पसिना खर्च गरी आर्जन गरेको पैसाले अभाव र पीडामा रहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्ने गरी सहयोग प्रदान गरेको भन्दै विद्यालयका प्रधानाध्यापक देबिराम शर्माले सबै सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

समाजसेवी विवेक काफ्लेको पहलमा गत वर्ष पभि विभिन्न ठाउँका गरिब, जेहेन्दार र आर्थिक अभावमा आफ्नो अध्ययनलाई अगाडी बढाउन नसकेका विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय