को को थपिए बागलुङबाट नेकपा केन्द्रीय सदस्य

बागलुङ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई चिरा परेको छ ।ओली र प्रचण्ड माधव नेपाल गरी दुई खेमामा विभाजित भएका नेकपा नेताहरुले आफुलाई वैधानिक नेकपा भनेर दाबी गरिरहेका छन् ।

दुईमध्ये कुन असली नेकपा हो

भनेर निर्णय गर्ने जिम्मेवारी अव निर्वाचन आयोगमा पुगेको छ । दुबै पक्षले आ—आफने जिकिर सहित निर्वाचन आयोगमा जानकारी गराएका छन् । प्रचण्ड माधव नेपाल खेमाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेर रिक्त अध्यक्ष पदमा माधव नेपाललाई अध्यक्षमा चयन गरेको छ ।

केपी ओलीले पुरानै केन्द्रीय समितिमा थप गरेर एक हजार एक सय ९९ सदस्यीय महाधिवेसन आयोजक समिति गठन गरेका छन् । ओलीले तयार पारेको केन्द्रीय सदस्यहरुको सूचीमा बागलुङका नयाँ १० अनुहार थपिएका छन् ।

प्रधानमन्त्री ओलीले आफुलाई साथ दिने ठानेर केन्दीय सदस्यमा मनोनित गरेपछि अहिले बागलुङमा नेकपाको केन्द्रयि सदस्य पद फालाफाल भएको छ । सूचिमा परेका बागलुङका १० मध्ये आधा जतिले पद अस्वीकार गर्ने संकेत दिएका छन् ।

बागलुङबाट गोविन्द नेपाली र मनकुमारी केसी यस अघि नै केन्द्रीय सदस्य थिए । मंगलबारको आफु पक्षीय केन्द्रीय समिति सदस्यहरुको भेलामा ओलीले साबिकको चार सय ४७ सदस्यीय केन्द्रीय समितिमा थप ५ सय ४७ जना थप गरेका छन् ।

१ एक ९६ पछि थपेर एक हजार एक सय ९९ पु-याउने ओलीले जनाएका छन् । केन्द्रीय सदस्य गोविन्द नेपालीका अनुसार बागलुङबाट केन्द्रीय सदस्यको सूचीमा पर्ने नयाँ अनुहारहरुमा बागलुङ नगरपालिका प्रमुख जनकराज

पौडेल, तत्कालिन नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, सांसद सूर्य पाठक, संविधान सभा सदस्य नरबहादुर थापा, टेकबहादुर केसी, ममतादेवी शर्मा, सुनिल शेरचन, हिराबहादुर केसी, मोहनलाल शर्मा र गिता शर्माको नाम रहेको छ । यीमध्ये श्रीप्रसाद शर्मा र हिराबहादुर केसीले आफुहरु ओली गुटको केन्द्रीय सदस्यमा नरहेको बताएका छन् ।

गिता शर्माले पनि आफु गुटमा नलाग्ने र पार्टी एकताको पक्षमा लाग्ने जवाफ दिएपछि ओलीको लिष्टबाट अन्तिममा उनको नाम हटाईएको बताईएको छ । केन्द्रीय सदस्यमा परेकामध्ये बागलुङ नगरप्रमुख जनकराज पौडेल, संविधानसभा सदस्य नरबहादुर थापा र ममतादेवी शर्माले केन्द्रीय सदस्य पद स्वीकार गरेका छन् ।

सुनिल शेरचनले आफु गुटमा नलाग्ने प्रतिक्रिया दिएका छन् । उनले पनि यो पद अस्वीकार गर्नेसक्ने बताईन्छ । सूर्य पाठकले आफुलाई यसबारे थाहा नभएको बताएका छन् ।

‘म आमा बिरामी भएका कारण अस्पताल तिरै छु, त्यसले गर्दा धेरै बुझ्न पाएको छैन,’ पाठकले भने,‘मेरो नाम हुनसक्छ ।’ उनले विगत देखि नै प्रधानमन्त्री ओलीको पक्षमा वकालत गर्दै आएको र संसद भंग गर्ने निर्णयलाई

समेत प्रधानमन्त्रीको बाध्यात्क कदम भनेर बचाउ गर्दै आएकाले उनले उक्त पद स्वीकार गर्नेछन् । टेकबहादुर केसी पनि ओली निकट नै मानिन्छन् । मोहनलाल शर्माले पद स्वीकार गर्ने नगर्ने विषयमा स्पष्ट बोलेका छैनन् ।

ओलीको केन्द्रीय सदस्य लिष्टमा बागलुङका १० जना परे पनि आधा जतिले अस्वीकार गर्ने संकेत दिएका छन् । केन्द्रमा पार्टी दुई टुक्रा परेपछि जिल्ला तहका नेताहरु पनि कता लाग्दा

आफु सुरक्षित भईन्छ भन्ने विषयमा लेखाजोखा गर्न लागेका छन् ।
( बागलुङ पोस्ट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय