नेपाली काङ्ग्रेस मुसिकोटद्वारा पत्रकार सम्मेलन,नगरपालिकालाई धन्यवाद पनि भन्न नपाएको गुनासो
मुसिकोट गुल्मी – नेपाली काङ्ग्रेस मुसिकोटद्वारा पत्रकार सम्मेलन सम्पन्न भएको छ। शनिबार वामीटक्सार स्थित दरबार होटलमा भएको पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सचिव हरिनारायण सापकोटाले निर्वाचन भएको १ वर्ष बित्नै लाग्दासमेत मुसिकोट नगरपालिकाले नागरिकको अपेक्षा बमोजिम एउटा पनि काम नगरेको र राम्रो काम गरेको भन्दै धन्यवाद भन्न समेत नपाएको गुनासो गर्नुभएको छ ।
नेपाली कांग्रेस मुसिकोटले पटकपटक ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाउदा पनि त्यसतर्फ ध्यान नदिएको सापकोटाले गुनासो गर्नुभएको हो। कार्यक्रममा काङ्ग्रेस मुसिकोटका सभापति मोहन घिमिरेले नगरपालिकाले सहमतिबाट हुनुपर्ने धेरै काममा बहुमतको दम्भ देखाएको आरोप समेत लगाउनुभयो।
उहाले विभिन्न कार्यविधि बनाइएपनि त्यसको कार्यान्वनमा ध्यान नदिएको र त्यतातर्फ ध्यान दिन नगरपालिकालाई अनुरोध समेत गर्नुभयो। नगरपालिकाभित्र संचालित विभिन्न विकासका योजनाहरुको गति सुस्त हुनुले पनि नगरपालिकाको काम गराईको तरिका नागरिकमैत्री नभएको पुष्टि गर्ने भन्दै कांग्रेसले ती योजनाको काम यथाशिघ्र तीब्र रुपमा संचालन गर्न भनेको छ।
पार्टीको विधान बमोजिम कांग्रेसले आउदो फागुन २७ गते नगर सम्मेलन गर्न लागेको भन्दै आफ्ना कार्यकर्ताहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ। नगरपालिका नागरिकको सेवामा भन्दा पनि आफ्नै धुनमा व्यस्त भएको आरोप समेत कांग्रेसले लगाएको छ।
प्रदेश र संघिय सरकारबाट नगरमा परेका योजना र बजेटको सुची नगरपालिकामा नहुनु दुखद रहेको कांग्रेसले जनाएको छ।फरक प्रसंगमा पत्रकारसंगको कुराकानीको क्रममा कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल महिला संघको अधिवेशन रोकिनुमा आपसी समझदारीमा कमी भएको भन्दै आउदो सम्मेलनमा त्यसलाई सम्पन्न गर्ने कांग्रेस लुम्बिनी प्रदेश सदस्य कल्पना घिमिरेले बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा,पार्टी मुसिकोट नगर सभापति मोहन घिमिरे,पार्टी नगर सचिव मधुसुदन रायमाझी, उपसभापति सन्तोष शाक्य, सहसचिव सुस्मा सापकोटा तिवारी,वडा नम्बर ७ कांग्रेसका सचिव डीलाराम खरेल, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल,समाचार प्रमुख अनिश पाठक,युनिक खबरका प्रधान सम्पादक रामकृष्ण कंडेल,छत्रभुमि रेडियोका सहायक स्टेशन म्यानेजर सुरज कार्की, पत्रकार दिप्सन छिनाल,नवखबर डट कमका विष्णुप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय