गुल्मीका मोहन बस्नेतलाई ‘वेष्ट युट्युब च्यानल अफ द इयर’अवार्ड

गुल्मीका मोहन बस्नेत ‘वेष्ट युट्युब च्यानल अफ द इयर’अवार्ड बाट सम्मानित भएका छन् । ड्रिम हाई नेपालद्धारा आयोजित दोस्रो एलआईसी मिडिया अवार्डअन्तरगत यस बर्षको उत्कृष्ठ युटुब संचालकको रुपमा बस्नेत सम्मानित भएका हुन् ।

आइतबार काठमाडौमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बरिष्ठ पत्रकार भैरव रिसालले बस्नेतलाई नगद २५ हजार सहित अवार्ड प्रदान गरेका हुन् । बस्नेतले विगत सात बर्षदेखि ‘नेपाल अपडेट’ नामक युटुब च्यानल संचालन गर्दै आएका छन् ।

उक्त च्यानलमा उनले कृषि, युवा उद्यम, दुःखी पीडित लगायतका बिषय उठान गर्दै आएका छन् । टेलिभिजन, छापा, एफ्एम् रेडियो र अनलाइन सञ्चारमाध्यमहरुमा कार्यरत सञ्चारकर्मीहरुको पछिल्लो एक बर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

बस्नेतसँगै अन्य नौ विधामा पनि विभिन्न संचारकर्मी एवम् पत्रकार पुरस्कृत भएका छन् । बस्नेतको सामाजिक कार्यको मुल्याकंन गर्दै ०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनसेवा पञ्चम श्रेणी’द्धारा विभूषित गरेकी थिइन् ।

त्यसका साथै गत साउन १४ गते ‘नेशनल आर्टिष्ट सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् । उनले युटुब च्यानलमा उठान गरेको कृषि सम्बन्धि रिपोर्ट हेरेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर समेत बधाई दिएका थिए ।

०५२ सालमा गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाउँमा जन्मिएका बस्नेतले ०७२ सालमा रेसुङ्गा टेलिभिजनबाट पत्रकारिता सुरु गरेका थिए । अवार्ड प्राप्त गरेसँगै बस्नेतले सबैको साथ सहयोगका कारण यो सफलता प्राप्त गरेको प्रतिक्रिया दिए । – प्रतिक खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय