गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड भोली देखी सूरु हुने

गुल्मीमा बिहीबार देखि संचालन हुने १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा भएको छ ।

आयोजक जिल्ला खेलकुद विकास समितिले बुधबार बिहान कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । खेलमा कुल छ विधामा एक हजार तीन सय भन्दा बढी खेलाडी सहभागि हुनेछन् । जसमा प्रत्येक पालिकाबाट बढीमा ११६ जना खेलाडी सहभागि हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरी प्रसाद महाकिमले जानकारी दिए ।

गत बर्षसम्म पाँच विधामा मात्रै खेल हुने गरेकोमा यस बर्ष मार्सल आर्ट समेत थप गरिएको छ । आज साँझसम्म सबै पालिकाबाट खेलाडीहरु सदरमुकाम आउनेछन् ।

तीन दिनसम्म चल्ने खेलमा विभिन्न विधामा प्रदेश स्तरीय खेलको लागि ७६ जना छनौट हुनेछन् । जिल्ला स्तरीय खेलमा सहभागि पालिकाका खेलाडीको खर्च सम्बन्धित पालिकाले व्यहोर्ने र प्रदेश स्तरीय खेलमा सहभागि हुने खेलाडीको खर्च जिल्ला खेलकुद विकास समितिले व्यहोर्ने छ ।

कार्यालयका प्रमुख डिल्लि विश्वकर्माका अनुसार राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्नका लागि चार लाख ५० हजार बिनियोजन भएपनि रकम अझै आइपुगेको छैन । खेल सम्पन्न गर्नको लागि समितिले विभिन्न उप–समितिहरु गठन गरेको छ । प्राविधिक, आर्थिक, प्रचार–प्रसार, विवाद समाधान, खेलाडी छनौट र स्वयम् सेवक उप–समिति गठन गरिएको विश्वकर्माले जानकारी दिए ।

पहिलो खेल बिहीबार बिहान ७ बजे चिदिचौरमा मार्सल आर्टबाट सुरु हुने कार्यालयले जनाएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागि गराउनका लागि जिल्लाका सत्यवती बाहेकका ११ पालिकाले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड समेत सम्पन्न गरेका छन् । – प्रतिक खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय