गृह मन्त्रालयमा पत्रकार निषेध, रवि लामिछाने पनि बालेनकै पथमा

काठमाडौं- सञ्चार क्षेत्र छाडेर राजनीतिमा होमिएका रवि लामिछाने अहिले पत्रकारसँग निकै डराउने गरेका छन् । औपचारिक कार्यक्रममा टिप्पणीबाहेक उनी पत्रकारसँग कुराकानी गर्न पनि चाहँदैनन् ।

गृहमन्त्री भएपछि अहिलेसम्म उनले एउटा पनि अन्तर्वार्ता दिएका छैनन् । न्युज २४ र ग्यालेक्सी फोरके टेलिभिजनमा कार्यक्रम चलाउँदा आफूलाई अन्तर्वार्ता नदिने नेता, सामाजिक अभियन्ता, प्रशासक, प्रहरीको उनी खोइरो खन्थे । भएका नभएका स्क्रिप्ट बनाएर कार्यक्रम चलाउँथे । अहिले तिनै लामिछाने पत्रकारलाई आफ्नो नजिक पर्न पनि दिँदैनन् ।

केही समययता गृह मन्त्रालयमा पत्रकारको पहुँच निषेध गरिएको छ । मन्त्रालयसम्बन्धी केही जानकारी लिन जाने पत्रकारलाई तलै रोकिन्छ । गृहमन्त्री लामिछानेका प्रेस हेर्ने र स्वकीय सचिवसमेतले पत्रकारलाई भेट्न मान्दैनन् । पत्रकार भेट्न आएको भन्नेवित्तिकै विभिन्न बहाना बनाएर भेट्न नमानेको सुरक्षा मामिलासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूको गुनासो छ ।

मिडिया क्षेत्र छाडेर राजनीतिमा होमिएपछि लामिछानेले सबै मिडिया प्रयोग गरे । आफ्ना कुरा राख्न भएभरकालाई अन्तर्वार्ता दिए । सहकर्मी शालिकराम पुडासैनीको हत्या अभियोगमा थुनामा पर्दा मिडियाकै सहारा लिए । अहिले उनी त्यही मिडियाबाट भाग्दैछन् ।

हिजो काठमाडौं महानगरपालिकाको मेयर उठ्ने बेला बालेन्द्र साह बालेनले पनि यस्तै गरेका थिए । रियालिटी शो, टक शो, टेलिभिजन जतासुकै बालेन छाउँथे । तर जब मेयरमा जिते, उनी एकाएक मिडियाबाट टाढा भए । अहिलेसम्म उनले एउटा पनि मिडियालाई अन्तर्वार्ता दिएका छैनन् । प्रश्न सोध्नेलाई गाली गर्छन् । जवाफदेहिता भन्ने के हो ? बालेनले बिर्सेका छन् ।

गृहमन्त्री लामिछाने पनि बालेनकै पथमा हिँडेका छन् । यसले ढिलोचाँडो दुवैलाई लैजाने भनेको खाडलमै हो । किनभने सार्वजनिक पदमा बसेर र जनताको कर लाभ लिएर जनताबाटै टाढा हुन खोज्नु भनेको निरंकुश प्रवृत्ति हो । नेपाली जनताले राजतन्त्र त ढालिसकेका छन् ।

त्यसमा नेपाली मिडियाको पनि निकै ठूलो भूमिका छ । नेपाली मिडियाका लागि रवि र बालेन केही पनि होइनन् । दुवैको अहिलेदेखि नै लोकप्रियताको ग्राफ तीव्र ओरालो लागेको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय