नेकपा सरकारको विरोध रहर कि बाध्यता ?

छन्दबहादुुर पहराई मगर
नेपालमा राणा शासनको अन्त्यतिर नेपाली राष्ट्रिय काँग्रेसको स्थापना २००३ सालमा भयो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भारतको कलकत्तामा भएको हो । पुष्पलाल महासचिव रहने गरी पहिलो केन्द्रीय कमिटीमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ थिए । राणाको शासनलाई कुर्कुच्चाले एकै स्वरले कुल्च्याई पूर्ण नागरिक स्वतन्त्रताको लडाई, लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने, जनताको अधिकार खोज्ने, नेपाली मजदुरको तलब वा ज्याला बढाउने र नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य र ज्याला बढाउन पर्ने जस्ता विविध बिषयमा माग राखी पार्टीको घोषणा पत्र तयार भएको थियो । राणा शासन अन्त्य गर्ने विषयमा नेपाली काँग्रेस जस्तो अग्र मोर्चामा नरहे पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेकपाको विशेष योगदान छ । नेपाल कम्युनिष्ट पार्टी कहिले आन्तरिक मनमुटाव, कहिले व्यक्तिगत टकराव, कहिले नेपाली समाजलाई हेर्ने दृष्टिकोणमा टकराव, कहिले कम्युनिष्ट पार्टीको दस्तावेजमा शब्द के राख्ने भन्ने लडाईको कारण कुनै समय जुट्ने र कुनै समय फुटने गर्दै आएको छ । नेपाल कम्युनिष्ट पार्टीको निकै लामो तथा रोचक इतिहास छ । मार्कसवाद, लेनिनवाद र माओवादमा नेपालका सबै कम्युनिष्ट पार्टीहरुले विश्वास राख्ने कुरामा एकमत भएतापनि राज्य सत्तामा पुग्ने बाटाहरु अलग–अलग तयार हुँदा नेपालमा कम्युनिष्टहरुको आन्दोलनमा सोचे जस्तो शक्ति पैदा नभएता पनि स्वतन्त्रता, आर्थिक समानता, गाँसबाँस कपासको ग्यारेन्टी, विदेशी पूँजीवादी दलालको विरोध जस्ता आकर्षक नाराले नेपाली जनतालाई कम्युनिष्ट पार्टीको समर्थक र कार्यकर्ताको रुपमा आवद्ध हुन प्रेरित गरेको इतिहास विर्सन हुँदैन । २०१५ सालको आमनिर्वाचनमा १०५ सिट मध्य जम्मा ४ सिट जित्न सफल भएको नेकपा २०४६ सालको जनान्दोलनमा ठूलै शक्तिको रुपमा उदय भयो । नेपाली काँग्रेसको एक माने सरकारको उन्मादले हुन गएको मध्यवधि निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दलको रुपमा स्थापित भयो । मनमोहन अधिकारी प्रधानमन्त्री भएको कार्यकालमा सामाजिक वृद्ध भत्ताका कारण विशेष लोकप्रिय भएको हो । नेकपा एमाले समय क्रमले एमाओवादीसँग पार्टी एकता गरी हाल झण्डै दुईतिहाइको सरकार गठन गर्न सफल भयो ।

नेकपा एमाले र नेकपा एमाओवादीको एकीकरण, केपी ओलीको राष्ट्रवादी नारा, नेकपा प्रति नेपाली जनताको भरोसा र विश्वासको कारण नेकपाले प्रचण्ड बहुमत प्राप्त गरेको हो । नेपालमा गरिबी हटाई जातिय विभेद, आर्थिक विपन्नताको खाडल जस्ता जनताको समस्यालाई अवश्य हल गर्ने छन्, घर–घरमा ५ हजार वृद्ध भत्ता र ग्याँस पाईप,पानी जहाज,रेल, स्मार्ट शहर जस्ता विकास नेकपा सरकारबाट अवश्य हुने छ भन्ने यो लेखकलाई पनि राम्रै लागेकै हो । जतिसुकै परिवर्तन भएता पनि नेताहरुको रहन सहन, आनि बानी, सरल जीवन शैली भएन भने नेपालमा विकास हुन सक्दैन भन्ने थियो तर यो आशा नेकपाका नेताहरुबाट पालना हुने छ भन्ने नेपाली जनताले आशा गरेका थिए । नेपालका मजदुर, किसान, युवा विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक, सीमान्तकृत वर्गलाई नेकपा सरकारले अवश्य हेर्नेछ र विशेष कार्यक्रम ल्याउने छ भन्ने विश्वास सबैमा थियो । स्वर्गीय मदन भण्डारीले भनेका थिए ‘कुराले चिउरा भिज्दैन’ नेपाली जनतालाई चाहिएको काम गर्ने सरकार हो गफाडी सरकार होइन । जनतालाई परिणाम दिने नेता चाहिएको छ भ्रम पार्ने, दिनमा रात पार्ने, सपना देखाउने नेता नेपाली जनताले धेरै भोगिसकेका छन् ।
सरकारले प्राप्त गरेको अवसर गुमाउँदै :
नेपाल विश्वमा यस्तो देश हो कि मरिची ऋषिका छोरा ‘ने’ नाम गरेका ऋषिले पशुपति क्षेत्रमा तपस्या गरेर योगिनी देवीको वरदानले नेपाल नामकरण भएको हो भन्ने हिमवत खण्डमा वर्णन गरिएको छ । नेपाल देवता, दानव र ऋषिमुनीहरुको पर्यटकीय स्थल हो । स्थिर सरकारको नेतृत्व दिई अँग्रेजलाई छिर्न नदिएका नेपालका पूर्व प्रधानमन्त्री भीमसेन थापालाई झुटो अभियोग लगाएर आत्म हत्या गर्न बाध्य गराइयो । त्यसैले सतिले सरापेको मुलुक पनि भनिन्छ । नेपाली जनताले धेरै ठूलो आशा नेकपा सरकार प्रति राखेका थिए । विगतमा बहुमतको सरकार नेपाली काँग्रेसले पनि नपाएको होइन । २०१५ सालमा नेपाली काँग्रेसले दुईतिहाइको बहुमत प्राप्त गरेको थियो तर राजा महेन्द्रले कु गर्नुको कारण आन्तरिक एकता हुन नसक्नु पनि मुख्य कारण थियो । नेपाली काँग्रेसलाई पुनः २०४८ सालमा सरकार चलाउन बहुमत प्राप्त भयो तर आन्तरिक विवादका कारण २०५१ सालमा मध्यवधि भयो । तत्कालीन अवस्थामा नेकपा एमाले फुटेको कारण पनि होला २०५६ सालको निर्वाचनमा पुनः नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्‍यो तर पार्टी नै विभाजन भयो । विगतको अध्यनलाई हेर्ने हो भने वर्तमान नेकपा सरकारले धेरै ठूलो अवसर प्राप्त गरेको हो । नेपाली जनताको विश्वास थियो कि यदि नेकपाले अवसर पायो भने नेपाली काँग्रेसको तुलनामा नेपाली जनताको लागि अवश्य राम्रो काम गर्छ होला भन्ने आशा थियो । नेकपाको सिद्धान्त मार्कस्वाद, लेनिनवाद र माओवादलाई व्यवहारिक रुपमा समाज रुपान्तरण गर्नका लागि अनुशरण गरेर देखाउने अवसर आएको थियो । नेकपाको सरकार नेकपाका नेताहरु विगतका अन्य सरकारहरु र नेताहरु भन्दा फरक छन् भन्ने विश्वास दिलाएर जनतालाई सुशासन दिने अवसर नेकपाको सरकारले राम्ररी गुमाएको छ । नेकपाका नेताहरुले नेपाली समाजमा आर्थिक समानताको नीति लागु गराउने अवसर आएको थियो । व्यवहारमा व्यक्तिको सम्पत्तिलाई निरुत्साहित गर्दै जाने अवसर आफुहरुबाट सुरु गर्ने अवसर गुमायो । देश र जनताको हितमा भन्दा पनि सत्तामा गिद्धे व्यवहार गर्ने,रातारात अकुट सम्पत्ति कमाउने होडबाजी, खुल्ला रुपमा भ्रष्टचारीको संरक्षण गरेर बदनाम कमाउने बाहेक अरु केहि काम गर्न सकेन ।
विरोध रहर होइन बाध्यता :
यस लेखमा नेपाल सरकार नभनेर नेकपा सरकार भनिएको छ । सरकार हुनलाई सबैलाई सरोकार राख्ने अनुभूति दिलाउन सक्नु पथ्र्यो । सरकारले जनतालाई समान व्यवहार गर्छ । सरकारबाट कसैलाई पक्ष र अन्याय हुन दिदैन । निर्वाचनमा जुनसुकै दलबाट निर्वाचित भएता पनि सरकारमा गइसकेपछि दलले गर्ने व्यवहार नगरी जनतालाई सरकारले गर्ने व्यवहार गर्दछ तर वर्तमान नेकपा सरकारले फरक विचार राख्नेलाई तल्लो स्तरको व्यवहार गरेको छ । निर्वाचन जितेर सरकारमा गइसकेपछि आफ्नो पार्टीले विजय प्राप्त गरेको क्षेत्रमा कसैलाई पनि झुल्किन नदिने, कोही झुल्क्यो भने जम्मा भएर लखेट्ने वा लखेटन लगाउने जस्ता जंगली क्रियाकलाप गरेको उदाहरण तनहुँमा रामचन्द्र पौडेल माथि गरिएको व्यवहार हो । एक्काईसौं शताब्दीमा पनि ढुंगे युगमा जस्तो कविला जातिहरुले देखाउने चरित्र नेकपा सरकारले प्रदर्शन गरेको छ । नेकपा सरकारको गतिविधि हेर्दा चाइनाको दार्शनिक कन्फुशियसले तत्कालिन गभर्नर शेलाई उनको गाउँमा फरक किसिमको इमान्दारिताको बारेमा बताउदै भनेका थिए ‘एक जना बाबु छोराले गरेको अपराधको ढाकछोप गर्छ भने छोराले बाबुले गरेको गल्तीलाई गोप्य राख्छ’ यसरी पनि इमान्दारिता कायम हुन्छ । क्न्फुशीयसले भने जस्तै आफ्ना मन्त्रीहरुले गरेको अपराधप्रति प्रधानमन्त्री केपी ओलीबाट ढाकछोप भइराखेको छ भने प्रधानमन्त्रीले गरेको गल्तीलाई मन्त्रीहरुबाट गोप्य राखिएको छ ।

नेकपा सरकार अपराध र गल्तीलाई ढाकछोप र गोप्य राखेर भ्रष्टाचारीको संरक्षण गरिरहेको धेरै उदाहण मध्ये गोकुल बाँस्कोटा र विष्णु पौडेल जस्ता नमुना हुन् । एकातिर देश कोरोना भाइरसले आक्रान्त छ,भने अर्को तिर अन्तर्राष्ट्रिय पारदर्शिता मापन गर्ने संगठनले नेपालको राजनीति र कर्मचारी तन्त्रमा व्यापक भ्रष्टाचार बढेको प्रतिवेदन सार्वजनिक गरेको छ । तर नेकपा सरकार उक्त भ्रष्टाचारको आरोप लागेको प्रतिवेदन स्वीकार नगरी मन्त्रिपरिषद्को बैठकबाट खारेज गरेको घोषणा गर्दछ । नेकपा सरकार भ्रष्टचारीको संरक्षक हो भन्ने दरिलो प्रमाण प्रचण्डको सचिवालयमा पेश गरेको राजनैतिक प्रतिवेदन पनि हो । रोम भन्ने देशको राजधानीमा आगो लागिरहेको बेला सम्राट नीरो बाँसुरी बजाइरहेको अवस्थामा वर्तमान प्रधानमन्त्री र मन्त्रीहरु त्यसै गरिरहेका छन् । कोभिडले देशको अवस्था विकराल छ तर हेलिकप्टर चढेर प्रधानमन्त्री जन्मदिन मनाउन ताप्लेजुङ पुग्छन् भने बालुवाटार जग्गा काण्डमा प्रमाण सहित परेका अर्थमन्त्री बिष्णु पौडेललाई बालुवाटारमा केक काटेर जन्मदिन मनाएको राष्ट्रिय मिडियाबाट सार्वजनिक गरिन्छ । अर्कोतिर प्रचण्ड र केपी ओली विच ताण्डव नृत्य सुरु भइरहेको छ । दक्षिण अमेरिकामा पर्ने भेनेजुएला भन्ने देशलाई राष्ट्रपति हिगो चावेजले संसारको गरिब र मागेर खाने राष्ट्र बनाए जस्तै यही अवस्था नेकपा सरकार रहेमा नेपालमा पनि टाट पल्टिन ढिला हुनेछैन । नेकपा सरकारले घटाएका काण्डहरुको बारेमा यस लेखमा उल्लेख गरेर सम्भव हुँदैन तर पनि निर्मला काण्ड, ३० किलोको सुन काण्ड, गोकुल बाँस्कोटाको अडियो काण्ड नमुना मात्र हुन् । यसकारण नेकपा सरकारको विरोध सडकमा, सामाजिक सञ्जालमा, सार्वजनिक कार्यक्रममा, नागरिक समाजमा मात्र नभएर आम जनताको माझमा गर्नु पर्ने रहर नभई बाध्यता हो ।
निष्कर्षः
गरुड् पुराणको एउटा स्वलोकले भन्छ कि “त्यजेदेकं कुलस्यार्थे, ग्रामार्थे च कुलं त्यजेतःग्रामंजनपदस्यार्थे, आत्मार्थे पृथिवीं त्यजेत” कुल हितको लागि आफ्नो हितलाई त्याग,गाउँ हितको लागि कुलको हितलाई त्याग, जनहितको लागि गाउँको हितलाई त्याग र आत्म गौरवको लागि संसार त्याग भन्ने उपदेश कम्युनिष्टमा लागु हुनुपर्ने हो । सम्पूर्ण कुरा भौतिकवादमा विश्वास राख्ने,व्यक्तिगत प्रलोभनमा नफस्ने, सबैलाई समान देख्ने भन्ने मार्कस्वाद र लेनिनवाद र माओवादको सिद्धान्त हो । उक्त सिद्धान्त नेकपाले पोलेर खरानी बनायो । माओले बाल्यकालको समयमा एकपटक आकासबाट पानी परेको बखत आफ्नो घरको आँगनमा सुकाएको बिस्कुन पहिला नउठाई छिमेकीको घरको आँगनमा सुकाएको बिस्कुन उठाउन गए । माओको बाबुले आफ्नो घरको बिस्कुनलाई पानीले भिज्न किन दिएको भनेर गाली गर्दा उनले बाबुलाई जवाफ दिएका थिए कि यदि छिमेकीको आँगनको बिस्कुन भिजेको भए त्यस दिन बेलुका छिमेकी भोकै बस्नु पर्ने थियो तर आफ्नो घरको बिस्कुन भिजेमा छिमेकी जस्तो त्यसदिन भोकै बस्नु नपर्ने बाबुलाई उत्तर दिएका थिए । के यस्ता उदाहणका पात्र नेकपा कुनै नेता बन्न तयार छन् ? अहिले नेपाली जनतालाई यो प्रष्ट भएको छ कि नेकपाले नेपाली जनतालाई भ्रममा पारेको रहेछ । अब नेकपा सरकारको हालसम्मको गतिविधि नियाल्दा “प्रकृति र समाज विकासको कारक तत्व आफै भित्र हुन्छ । प्रत्येक कुरा (वस्तु र परिघटना वा पक्रिया) उ भित्र रहेको आन्तरिक द्वन्दले वस्तुमा गति पैदा हुन्छ । अर्थात् विनासको कारण बाÞय भन्दा आन्तरिक गति प्रमुख हुन्छ । नेकपा आफै विनाशको बाटोतिर गइरहेको छ । अलिकति भएपनि निजी जीवनलाई भन्दा सामाजिक जीवनलाई महत्वको पाठ सिकाएको भए जनताको नजरमा नेकपा खस्किने थिएन । नेकपा सरकारको गतिविधिको कारण सडकमा जनताले वर्तमान प्रणाली माथि नै प्रश्न उठाउन थाले । राजा प्रतिको आकर्षण भन्दा पनि वर्तमान सत्ता प्रतिको विकर्षणले संघीय लोकतान्त्रिक गणतान्त्रिक बहुदलीय व्यवस्था नै बदनाम हुने काम नेकपा सरकारबाट भएको छ । यसर्थ नेपाली जनता आ–आफ्नो स्थानबाट सचेत र सजग हुनुपर्ने बेला आएको छ । (लेखक नेपाली काँग्रेसका केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय