कस्तो रहला तपांईको माघ महिना हेर्नुहोस मासिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – अत्यन्त शुभफलदायी र कर्मसिद्धिको महिना छ। पूर्वयोजनाहरू कार्यान्वयन गरेर पनि मनग्य फाइदा उठाउन सकिनेछ। तारिफयोग्य कामले सामाजिक तथा राजनीतिक वृत्तमा चर्चित भइनेछ। अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। नयाँ अभियानको नेतृत्व लिने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ।

कम लागतमा दिगो काम, पेसा, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ। मिहिनेतले सफलताको उचाइमा पनि पुर्याउन सक्छ। महिनाको अन्त्यमा आयस्रोत सबल बन्नाले चल–अचल सम्पत्ति जोड्न सकिनेछ। परिवारमा सुख–समृद्धि बढ्नेछ। लामो समयदेखि रोकिएको काम समेत सम्पादन हुनेछ। शरीरमा स्फूर्ति र मनमा उत्साह जगाउने ग्रहयोग छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – योजना ठूलो बन्नेछ। तर महत्त्वाकांक्षा पूरा गर्न निकै संघर्ष गर्नुपर्ला। नियमित काममा समेत अवरोध देखापर्नेछ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम समयमा सम्पादन गर्न नसकिएला। सहयोगी अभाव र कामको चापले लक्ष्यप्राप्तिमा विलम्ब हुनेछ। सानो उपलब्धिका लागि बढी रकम खर्चनुपर्ने देखिन्छ।

स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मत गर्दा केही काम बनाउन सकिनेछ। केही रकम अरूका लागि खर्चनुपरे पनि नियमित आम्दानी भइरहनेछ। केही सामाजिक जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। मतभेदले आफन्तमा भने खटपटी निम्त्याउन सक्छ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ। अध्ययनमा पहिलेको साख जोगाउन सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – मिहिनेत गर्दागर्दै पनि समय आफ्नो पक्षमा नरहन सक्छ। परिस्थितिवश काम बिग्रने र फजुल खर्च बढ्ने ग्रहयोग छ। अधैर्य मनस्थितिले आफ्नै अडानमा टिक्न समस्या पर्नेछ। स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान दिनुपर्ने समय छ।

पूर्वनिर्धारित काममा समेत सहयोगीहरू पछि हट्नेछन् र आफ्नैले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन्। भौतिक साधनतर्फ फजुल खर्च हुनेछ। फसेको रकम उठाउन पनि हम्मे पर्नेछ। काम बिग्रनाले हर्जाना तिर्नुपर्ने हुन सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। नयाँ काम गर्न बाधा भए पनि नियमित काम सम्पादन हुनेछन्। अवसरका लागि दौडधुप र संघर्ष भने गर्नुपर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आयस्रोत सबल देखिए पनि पतिपत्नीबीच मतभेद हुने ग्रहयोग रहेकाले घर–गृहस्थी केही असामान्य रहनेछ। कर्मक्षेत्रमा पनि केही वादविवाद र चुनौती देखापर्नेछन्। आफ्नो भूमिकाप्रति हस्तक्षेप गर्नेहरूले सताउन सक्छन्। नियमित काम र व्यापारमा भने मनग्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। व्यावसायिक यात्रा गर्ने साइत जुर्नेछ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। साझेदारीमा विशेष फाइदा हुनेछ।

शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त भइरहने छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण तथा विदेशयात्राको अवसर जुट्ने बलियो सम्भावना छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – यो महिना विशेष उपलब्धिमूलक रहनेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। संघर्षले सफलताको उचाइमा पुर्याउन सक्छ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुने समय छ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत पनि फेला पर्नेेछन्।

प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। थालेको काम बन्नेछ र मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – अवसरका लागि धेरै मिहिनेत, दौडधुप र संघर्ष गर्नुपर्ने देखिन्छ। आर्थिक लेनदेन गर्दा आफ्नो मूलधन सुरक्षामा सजग रहनुहोला। वादविवादमा प्रतिस्पर्धीहरू हावी हुने समय छ। सामाजिक प्रभावले आफ्नो मान्यताबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ।

पेटको खराबी तथा मौसमी समस्या देखापर्नाले स्वास्थ्य कमजोर रहनेछ। तापनि व्यापार बढ्नाले अर्थोपार्जन भने राम्रै हुनेछ। पेसा–व्यवसायमा पनि सहयोगी र शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण तथा देश–विदेशसम्म यात्रा गर्ने साइत जुर्न सक्छ। टाढिएका सहपाठीहरूसँग पुनर्मिलन हुने समय छ। अध्ययनमा पनि राम्रै नतिजा हासिल गर्न सकिनेछ। आँटले काम लिँदा नयाँ योजना थालनी हुनेछ। अवसर खोज्नेहरूका लागि क्षमता प्रदर्शन गरेर स्वरोजगार बन्न सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – अर्थ अभाव र पारिवारिक मतभेदले नयाँ योजना थाल्न समस्या पर्नेछ। आफन्तको विश्वास भरपर्दो नहुन सक्छ। सामाजिक काममा अलमल र खर्च हुनेछ। घरमा पनि जिम्मेवारी बढ्नेछन् भने सहयोगीहरू पछि हट्नेछन्। सगोलको सम्पत्ति र साझेदारीमा वादविवाद हुने ग्रहयोग छ।

नियमित काममा समेत समय दिन नसक्दा अरूको विश्वास गुम्न सक्छ। कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ। समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ। व्यावहारिक समस्या देखिए पनि धैर्यले काम लिनुहोला, दाजुभाइ र शुभचिन्तकको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। तत्काल फाइदा उठाउन नसकिए पनि मिहिनेत गर्दा महिनाको अन्त्यतिर स्थितिमा सुधार आउनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – विगतको श्रमबाट उत्साहजनक नतिजा प्राप्त हुनेछ। नयाँ अवसर खोज्नेहरूका लागि पनि यो महिना उत्साहवर्धक रहनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ।

पहिले रोकिएका काम पनि सम्पादन हुनेछन्। उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भने भागबन्डा लाग्ने सम्भावना छ। महिनाको अन्त्यमा पारिवारिक असमझदारी बढ्न सक्छ। अधिक खर्च बढ्ने र काम रोकिने ग्रहयोग पनि देखिन्छ। मिहिनेतले स्थितिमा सुधार ल्याउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। केही धनमाल हराउने वा ठगीमा परिने ग्रहयोग देखिएकाले लेनदेनमा विशेष सावधानी अपनाउनुहोला। काममा चुनौती देखिए पनि आशा गरिएको फल भने प्राप्त हुनेछ। तर बलजफ्ती प्रयास गर्दा केही हानि पनि बेहोर्नुपर्ला।

विलासी वस्तुका लागि धन खर्च हुनेछ। शिर तथा आँखाको समस्याले सताउन सक्छ। पढाइ, लेखन, संगीत र कलातर्फ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर जुट्नेछ। मिहिनेतअनुसार प्रशंसा, पुरस्कार आदि पाइनेछ। धनको सञ्चिति पनि बढ्नेछ। मूल्यवान् गहना, उपकरण आदि संग्रह गर्ने समय छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई पनि ध्यान दिनुहोला। लामो समयदेखिको व्यवधान यस महिनाको अन्त्यमा हट्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। आफ्नो क्षेत्राधिकारभित्र अरूले राज गर्नेछन्। सानो काममा लामो समय बित्नेछ। प्रतिष्ठाको द्वन्द्वमा श्रम, समय र धन खर्च हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। कामको चाप बढ्नेछ तर श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुने समय छ। दोस्रो सातादेखि स्थितिमा सुधार आउनाले धनलाभ हुनेछ। बुद्धिको उपयोगले व्यावहारिक उल्झनहरू हटाउन पनि सफल भइनेछ। मनपर्ने वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन्।

व्यापार तथा पेसागत जिम्मेवारी बढ्नेछ। विद्यार्थीहरूको लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। घर–परिवारमा असमझदारी देखिए पनि प्रेम र मित्रताको बन्धन कसिनेछ। महिनाको अन्त्यतिर भने निकै दौडधुप र मिहिनेत गर्नुपर्ने परिस्थिति आउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – यस महिनामा केही व्यावहारिक उतारचढाव आउनेछन्। आशा देखाउनेहरूको भरमा काम गर्दा धोका हुन सक्छ। खर्चिलो काम थाल्नाले बीचमा अर्थ अभाव देखापर्नेछ। समयमा आफ्ना कमजोरी मूल्यांकन गर्न नसक्दा दुःख पाइनेछ। प्रतिज्ञा पूरा गर्न नसकिए पनि आफन्तसँग संयमतापूर्वक व्यवहार गर्नुहोला।

सरकारी क्षेत्रमा हुने कडिकडाउको सिकार भइनेछ। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। उधारोमा व्यापार गर्नुपर्ने हुन सक्छ। तापनि भविष्यका लागि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। बोलीको माध्यमले काम बन्नेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ। अधिक कर्जाले जोखिम निम्त्याउन सक्छ। आफ्नै हतियार पनि अलि सावधानीसाथ उपयोग गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – केही विवादास्पद काममा अल्झनुपरे पनि यो महिना निकै फलदायी रहनेछ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।

आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरी तथा राजनीतिमा पनि उत्साहजनक सफलता प्राप्त हुनेछ। अध्ययन–अनुसन्धानले सफलताको उचाइमा पुर्याउन सक्छ। अवसर खोज्नेहरूका लागि राम्रो मौका पाइनेछ। योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थी समृद्ध बन्नेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धीलाई आफ्नो वशमा ल्याउन सकिनेछ। माङ्गलिक कार्यमा समय बित्नेछ। [

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय