सरकार गठनका लागि दलहरुको दौडधुप, यस्तो छ तयारी

काठमाडौं । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि ७ दिनको समयसीमा दिएसँगै दलहरुबीच सरकार निर्माणको सरगमी बढेको छ । अहिले सरकार निर्माण प्रमुख सम्भावना बोकेको नेपाली कांग्रेसले पार्टीको आन्तरिक पक्रिया शुरु गरेको छ ।

आउँदो बुधबार कांग्रेसले संसदीय दलको नेता चयन गर्न मिति तोकेको छ । यद्यपि अन्य दलहरुले भने संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको समयसीमाका विषयमा केही विवाद सिर्जना भएपनि दलहरु आगामी सरकार गठनको दौडमा जुटिसकेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी सरकारमा जान इच्छुक भएका छन् ।

प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादीबीच जेण्टल एग्रीमेन्ट कस्तो बन्छ भन्ने विषयले आगामी सरकार निर्माणको मोडालिटी तय हुनेछ । यद्यपि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने अवसर आएमा नछोड्ने प्रतिक्रिया दिनुभएको छ ।

यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि गठबन्धनकै सरकार बन्नेमा विश्वस्त देखिनुभएको छ । बजारमा फैलिएका भ्रमका पछाडि नलाग्न आह्वान गर्दै नपालले गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने जिकिर गर्नुभयो ।

पहिलो पटक सांसद बनेका र निर्वाचनमा होमिएका दलहरुपनि यतिबेला सरकारमा जान इच्छुक देखिएका छन् । आफ्नो एजेण्डा र मागको सुनुवाई हुने अवस्था आए सरकारमा जान तयार रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतको भनाइ छ ।

सांसदहरुको सपथ ग्रहणको मिति पुस ७ गतेलाई तोकिएको छ । राष्ट्रपतिले ज्येष्ठ प्रतिनिधिसभा सदस्यलाई सपथ ग्रहण गराएपछि ज्येष्ठ सदस्यबाट अन्य सांसदहरुले सपथ लिनेछन् । दुई वा दुई भन्दा बढी राजनीतिक दलको सरकार बन्ने भएकोले चौतर्फी चासो र चिन्ता बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय