कस्तो रहला तपांइको पुस महिना ? हेर्नुहोस् मासिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ- परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि मेहनतले काम बनाउन सकिनेछ। अधिक परिश्रम गर्नुपर्ने समय रहेकाले थकान र कमजोरी भने अनुभूत हुनेछ। आलस्य र अस्वस्थताले समयमा काम गर्न नसकिए पनि लाभांश प्राप्त भइरहनेछ। लगनशील स्वभावले पनि उपलब्धि प्राप्त गर्न सफल भइनेछ।

बलभन्दा बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। पुरानो काम बीचैमा रोकिए पनि नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। पहिलेको वादविवाद समेत सम्झौतामा टुंगिनेछ। अध्ययनमा समय दिन नसकिए पनि कर्मयोगले उचाइको बाटो समाउनेछ। भाग्यले असल मित्र, शुभचिन्तक तथा सहयात्री आदि जुराउन सक्छ। प्रतिफल समयमा नउठाउँदा केही समस्या भने आइपर्न सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले परिस्थितिजन्य समस्या आइरहनेछन्। साथ दिनेहरू कम हुनेछन् भने आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। स्वास्थ्य र आम्दानीका दृष्टिले महिना कमजोर रहनेछ। सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने हुँदा आर्थिक अभावले सताउन सक्छ।

राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। समयमा निर्णय नलिने र अरूको मुख ताक्ने बानीले अवसर गुम्न सक्छ। चोटपटक वा हाड–जोर्नीमा कमजोरी देखिएकाले साधन प्रयोगमा र जोखिम हुने काममा सावधानी अपनाउनुहोला। महिनाको उत्तरार्धमा रोकिएका काम बन्ने, व्यापार बढ्ने र आर्थिक पक्ष सबल बन्ने सम्भावना देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – केही उतारचढाव देखिए पनि यस महिनामा विशेष काम शुभारम्भ हुनेछ। नयाँ अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। मित्रताको बन्धन अझ प्रगाढ हुनेछ भने प्रेमसम्बन्ध वैवाहिक मार्गतर्फ अघि बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ।

तर, वादविवादले यदाकदा मनमा अशान्ति र काममा प्रतिकूलता निम्त्याउन सक्छ। घरको समस्याले व्यावसायिक काममा विलम्ब हुन सक्छ। यात्रा, भोगविलास र भेटघाटले खर्चका साथै केही समस्या समेत निम्त्याउन सक्छ। अवसर आए पनि परिस्थितिवश उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल गर्दै विशेष उपलब्धि प्राप्त गर्न सकिनेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू समेत सहयोगी बन्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन्। नयाँ उद्योग वा व्यवसाय प्रारम्भ गर्ने समय छ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। आँट र लगनशीलताले सफलता प्राप्त हुनेछ। समाजका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ।

धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। मिहिनेत गर्दा स्वरोजगार बन्न सफल भइनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। व्यापार–व्यवसायमा पनि राम्रो फाइदा उठाउन सकिनेछ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – अवसर आए पनि उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ला। खर्च बढ्ने र आम्दानी रोकिने हुँदा उत्साहमा कमी आउनेछ। स्वास्थ्य कमजोर बन्नाले आलस्य बढ्नेछ। खानपान र विश्राममा विशेष ध्यान पुर्याउनुहोला। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ।

परोपकारी कामले सामाजिक प्रतिष्ठा पनि दिलाउनेछ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला निम्त्याउनेछ, वादविवादमा अघि नसर्नुहोला। आफ्नो समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्। सन्तानका माध्यमबाट काम बन्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – यो महिनामा केही घरेलु समस्या देखापर्न सक्छन्। साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। उच्च महत्त्वाकांक्षाले व्यवहारमा समस्या निम्त्याउने देखिन्छ। घरभित्रै असमझदारी बढ्नाले सामूहिक भावना विखण्डित हुनेछ। असंयम व्यवहारले निकटजनहरू टाढिन सक्छन्। आफन्त र साथीभाइबाट समेत एक्लिनुपर्ने अवस्था आउन सक्छ।

उच्च रक्तचापले पनि सताउन सक्छ। तर, सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछ। नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्दा राम्रो हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – पुस महिना निकै लाभदायक रहनेछ। तारिफयोग्य कामले पद–प्रतिष्ठा दिलाउनेछ। नोकरीमा नयाँ अवसर प्राप्त हुने बलियो सम्भावना छ। उद्योगधन्दा फस्टाउनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। उद्योग–धन्दामा पनि सफलता प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ।

भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। दाजुभाइबीच आत्मीयता बढ्नेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखा पर्नेछन्। बीचमा अधिक खर्च, धनमाल हराउने, उपकरण बिग्रने, चोटपटक लाग्ने आदि व्यवधान पनि आउन सक्छन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – प्रारम्भमा केही व्यावहारिक उल्झन देखिए पनि कामको नतिजाले उत्साह जगाउनेछ। हिम्मतले सफलता दिलाउनेछ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। आत्मसम्मानका साथ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। धन तथा बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ।

अभिव्यक्ति–कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। यन्त्र, उपकरण वा विलासी वस्तुमा धन खर्च हुनेछ। यस महिनाको ग्रहयोगले स्वास्थ्यमा शिर, आँखा र दाँत सम्बन्धी समस्या देखापर्न सक्छ। सर्दी तथा मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा यस महिनामा केही उतारचढाव आउनेछन्। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले पनि सताउन सक्छ। अडान दोहोर्याउँदा सत्यका सामु शिर निहुराउनुपर्ने हुन सक्छ। महिनाको उत्तरार्धमा परिस्थिति अनुकूल बन्नाले जीवनशैलीमा परिवर्तन आउनेछ।

आफ्नो क्षेत्र, वर्ग र समाजलाई नेतृत्व प्रदान गर्न सकिनेछ। पहिलेका आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ। बलभन्दा बुद्धिविवेकले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – खर्चिलो परिस्थिति आउनाले महिनाभरि अर्थअभाव देखापर्नेछ। परिस्थितिवश केही कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। व्यापारमा मन्दी आउनेछ भने फजुल खर्च पनि बढ्नेछ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। प्रतिस्पर्धी बढ्ने हुँदा शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्।

वादविवाद, मुद्दा र प्रतिस्पर्धामा प्रतिद्वन्द्वी हावी हुने समय छ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। चोटपटकको सम्भावना देखिएकाले जोखिम हुने काम तथा हातहतियार र सवारीमा सजग रहनुहोला। लगनशीलताले आंशिक सफलता भने दिलाउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – घर–परिवारमा केही असमझदारी देखिए पनि यस महिनामा राम्रो प्रतिफल प्राप्त गर्न सफल भइनेछ। मिहिनेत र पुरुषार्थले फाइदा उठाउने समय छ। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लगनशीलताले सम्मानित स्थान दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। अप्ठ्यारो समयमा पनि आम्दानी भइरहनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। हात–हतियार, सवारी र जोखिमपूर्ण काममा अलि सावधान रहनुहोला। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – यो महिनामा विशेष अवसर प्राप्त हुनुका साथै कर्मयोगले उचाइमा पुर्याउनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने समय छ। स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्वानहरूको संगतले नयाँ कुरा सिक्ने अवसर पनि जुराउनेछ। अध्ययनको लगनशीलताले उचाइमा पुर्याउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन

ल्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नतिको मार्ग खुल्न सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। तारिफयोग्य कामले कीर्तिमानी दिलाउनेछ। नाम, दाम र इनाम प्राप्त हुने समय छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय