काठमाडौं – सरकारले संघीय संसद्को अधिवेशन पुस मध्यतिर बोलाउने गरी छलफल सुरु गरेको छ । ढिलोमा पुस २० गतेभित्र संसद् बैठक बोलाइने भएको छ ।
राष्ट्रपतिले नवनिर्वाचित सांसदको शपथग्रहणको समय तोकेपछि त्यही सेरोफेरोमा अधिवेशन आह्वानको सिफारिस हुने छ । संविधानको धारा ९३ ९१० मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न चुनावको अन्तिम परिणाम सार्वजनिक गरेसँगै नयाँ सरकार गठनको औपचारिक बाटो पनि खुलेको छ । संविधानको धारा ७६ ९३० मा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र नयाँ सरकार बन्नुपर्ने व्यवस्था छ ।
आयोगले बिहीबार अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै छ । प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनको आह्वान गर्नेछिन् । शीतलनिवास स्रोतका अनुसार शुक्रबार र शनिबार प्रतिवेदन अध्ययन गरेर आइतबार वा सोमबारसम्ममा राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी छ ।
आइतबार वा सोमबारसम्ममा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नेछिन् । आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार अहिले कुनै दलको बहुमत नआएकाले धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको गठबन्धन सरकार बन्ने देखिन्छ ।
बहुमत पुगेको कुनै पार्टीको संसदीय दलको नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्छ । राष्ट्रपतिले नियुक्त गरिसकेपछि प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ ।
यस आधारमा सुरुमा नेपाली कांग्रेसले सरकार बनाउने दाबी प्रस्तुत गर्नेछ । एक साताभित्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लाग्ने छ – मिडिया डबली