काठमाडौं । एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय स्तरका नेताहरूलाई कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले दुई पूर्व स्थायी कमिटी सदस्यसहित १४ जनालाई कारबाही गरेको हो ।
प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार स्थायी समिति सदस्यबाट घनश्याम भुसाल र प्रभु साह निष्कासित हुनुभएको छ । दुवै नेताले चुनावअघि नै एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासनमा पर्नुभएको छ ।
यसै गरी केन्द्रीय सदस्यहरूमा रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम तथा सर्लाहीका बद्री न्यौपाने र रिता साह निष्कासित हुनुभएको छ । यसैगरी, दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि निष्कासन गरिएको छ ।
यस्तै पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह पनि बर्खास्त हुनुभएको छ ।
पार्टीको समानुपातिक सूचीमा भएर पार्टी विरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो।