यस्तो छ समानुपातिकतर्फको अन्तिम मत परिणाम

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ ।

आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । उसले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन् ।

यस्तै अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सात दल सफल भएका हुन् । जसमा नेकपा (एमाले)बाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन ।

समानुपातिकतर्फ निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । जबकि प्रत्यक्षतर्फ भएको निर्वाचनमा भने एमालेले ४४ सिट प्राप्त गर्दै दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।

प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय