संसद जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले दुई पटकसम्म संसद विघटन गरेर लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए । “विगत पाँच वर्षमा दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट सरकारले संसद् विघटन गरेकाले सिङ्गो देशको विकासमा असर पर्यो, संविधानको रक्षा गर्दै संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो”, उनले भने ।

महामन्त्री थापाले जनतामा राजनीतिक दलले गरेका कार्यप्रति वितृष्णा बढ्दै गएको बताउँदै त्यसलाई बदल्ने गरी अगाडि बढ्नका लागि संसदमा कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेलको खाँचो रहेको औँल्याए । उनले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वको गठबन्धनले खेर नफाल्ने बताए ।

लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिभित्रको विकृति अन्त्य गर्दै काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

“काठमाडौँ क्षेत्र नं ५ मा थुप्रै समस्या छन्, तर सात किलोमिटर बाटो कालोपत्र गर्ने मुद्दा लिएर जनप्रतिनिधि भोट माग्न हिँड्दैछन्, त्यस क्षेत्रको सबै समस्या समाधान गर्ने मेरो दायित्व हुनेछ”, उनले भने। काठमाडौँ क्षेत्र नं ५ लाई सांस्कृतिक सहरका रुपमा विकास गरिने उनको भनाइ छ ।

नेता पौडेलले राजधानी र राजनीतिलाई सफा गर्नका लागि आफू उम्मेदवार बनेको स्पष्ट पारे । राजधानीको दिगो र व्यवस्थित मार्गचित्र बनाउने आफ्नो योजना रहेको उनको भनाइ थियो । काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा (१) का उम्मेदवार भैरव सापकोटा र प्रदेशसभा (२) का उम्मेवार श्यामबहादुर खड्काले संविधानको रक्षा गर्दै काठमाडौँ क्षेत्र नं ५ को समग्र विकासका लागि गठबन्धनलाई भोट दिन मतदातालाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय