एमाले हस्तीलाई पन्छाएर इलामबाट उदाउने तयारीमा डम्बर खड्का

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक इलाम २ बाट नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का चुनिने सम्भावना प्रबल बन्दै गएको छ । गत असोज २४ गते दलबलसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा एमाले नेता सुवासचन्द्र नेम्वाङको मुहारमा चमक थिएन ।

मलिन र शान्त देखिएका नेम्वाङ इलाम २ बाट पाँचौपटक उम्मेदवारी दर्ता गरिरहँदा सशंकित थिए । पाँचपटकसम्म निर्वाचित भएर पनि नेम्वाङले विकासका कुनै काम नगरेको, एमाले अध्यक्ष केपी ओलीले दुईपटक संसद् विघटनको साक्षी बसेर पाँच वर्षमा ‘बाली’ उठाउन आएको भनेर नेम्वाङमाथि मतदाताको आक्रोश चुलिँदो छ ।

उम्मेदवारी दर्तासँगै चुनावी अभियानमा होमिएका एमाले उपाध्यक्ष नेम्वाङले हरेक चुनावी सभामा उत्साहजनक भाषण गर्न सकिरहेका छैनन् । २३ वर्षमा भएका अधुरा कामहरूको फेहरिस्त र प्रस्टीकरणमा उनको भाषणबाजी चलिरहेको छ । तर, उनका लागि नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनौती बनेर खडा भएका छन् ।

इलाम २ मा खड्काको सामाजिक गतिविधि र आक्रामक चुनावी प्रचार नेम्वाङका लागि भारी बनिरहेको छ । इलामका दुर्गम गाउँहरूलाई आफैंले माथि उकासेको दाबी गरिरहेका नेम्वाङका लागि यसपटकको चुनाव विगतको जस्तो सहज देखिँदैन । आफ्ना पुराना र नियमित मतदान गर्दै आइरहेका मतदाताहरू नेम्वाङप्रति खुसी छैनन् । किनकि प्रतिस्पर्धीहरुले उनले अधुरै छाडेका दर्जनौं विकासे योजनालाई चुनावी मसला बनाइरहेका छन् ।

जसका कारण मतदाताको मनोविज्ञान परिवर्तन भइरहेको छ । मतदाता विकल्प खोजिरहेका छन् । त्यो विकल्प खड्कामा देखेका छन् । त्यही भएर अहिले खड्काको पक्षमा माहोल बनिरहेको छ ।

खड्काले जिल्लामा बसेर संगठन विस्तार मात्र गरिरहेका छैनन्, दुःख–बिमार, आपत–विपत, मेला–महोत्सवमा आर्थिक सहयोग बोकेर गाउँगाउँ पुगिरहेका छन् । जसकारण मतदाता उनीसँग प्रत्यक्ष जोडिएका छन् । खड्का भन्छन्, ‘सबै पार्टीसँग आस्था राख्ने इलामेली जनताको सुख–दुःखमा म सधैं सँगै छु ।

मेरो सक्रियतालाई देखेर हजारौं इलामे जनताले कांग्रेस रोजेका छन् । जिल्लाका लागि सिन्को नभाँचेका नेम्वाङलाई यसपटक इलामेली मतदाताले बिदा दिने निश्चित छ ।’ स्थानीय तहको निर्वाचनको मत विश्लेषण गर्दा सत्तागठबन्धन चार हजार मतले अगाडि छ । त्यसमा खड्काको लोकप्रियताले पनि धेरै मत आउने देखिन्छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय