विदेशीलाई नागरिकता दिने प्रयास असफल बनायौं: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको एक महिनामा सबै नेपाली नागरिकलाई नागरिकता दिने बताएका छन् ।

गृहजिल्ला झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम राष्ट्रियतालाई खतरामा पार्न खोजिएको बेलामा आएको बताए । उनले भने, ‘प्रचण्ड, शेरबहादुर र माधव नेपालहरुले नागरिकतासम्बन्धी विधेयक संसदमा रोके । अध्यादेशबाट कानुन ल्याएर दिन लाग्दा अदालतमा गएर रोकाएपछि विदेशीका लागि दिनका लागि हतारमा ल्याउन खोजे । तर, राष्ट्रपतिज्यूले रोक्नुभयो ।’

बिकाउ माल सरकारमा पुगेर गतल काम गरेपछि राष्ट्रपतिले रोकेर सही गरेको जिकिर गरे । उनले जन्मसिद्धका आधारमा एमाले सरकार बनेको एक महिनामा वंशजको आधारमा नागरिकता दिने बताए । विदेशीलाई नागरिकता दिएर गठबन्धनको सपना पूरा गर्न नदिने बताए ।

उनले भने, ‘गठबन्धन सधैं मिलेर खाइराख्ने रे । एमालेलाई ढाल्ने हिम्मत नभएपछि गठबन्धन बनाए । जनताबाट ढाल्न सकेनन् अदालतमा गएर जालझेल गरे । हामीले बहुमत पाउन सकेका छैनौँ । माओवादीलाई गम लगाएर एमालेमा टाँस्यौँ । प्रचण्ड पकलक्क उक्किए । तर, धेरै माओवादी नेताहरु एमालेमै रहे ।’

उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, राष्ट्रिय जनामोर्चा र लोसपा आगामी निर्वाचनबाट सकिने दाबी गरे । उनले भने, ‘गठबन्धन भनेको प्रचण्ड र शेरबहादुर देउवाको मितेर साइनो मात्रै हो । कांग्रेस र कम्युनिष्ट नाम भएपछि दुवै एकै हुन् ।’

प्रचण्डलाई अध्यक्ष बनाएरसँगै राखेपनि मुसालाई ऋषिले आर्शीवाद दिएजस्तो मात्रै भएको टिप्पणी गरे । उनले विस्तारै सकिने बाटोमा लाग्ने भएकाले डराइराख्नुपर्ने अवस्था नरहेको बताए ।

उनले जुम्लामा कांग्रेसले गठबन्धनको तर्फबाट माओवादी उम्मेदवारलाई भोट नहालेर राप्रपाको ज्ञानेन्द्र साहीलाई हाल्ने दाबी गरे । – मेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय