एमालेको सरकार आएपछि एकवर्षमा नागरिकता समस्या समाधान हुन्छः ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमाले सरकारमा आएपछि नागरिकताको समस्या समाधान हुने बताएका छन् ।

उनले सुनसरीमा भएको चुनावी सभामा सम्बोधन गर्दै एमालेले नेपालीलाई नागरिकता दिनलाई नछेकेको तर विदेशीलाई नागरिकता दिन भने एमालेले रोक्ने बताए । सुनसरीमा भएको चुनावी सभामा बोल्दै एमालेको सरकार आएपछि नागरिकताको समस्या एकवर्षमा समाधान गर्ने बताए ।
अहिले एमालेलाई नागरिकता विरोधीको पार्टी जस्तो बनाइएको तर यथार्थमा एमाले नागरिकता समस्या समाधान गर्न लागेको बताए । हिजोको आजै बिदेशीलाई नागरिकता दिने कुरामा एमालेको बिरोध रहने बताए ।

अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका हुन् । उनले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने आश्वासन दिए ।

अध्यक्ष ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताए । त्यस्तै, उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छादार मतदाताको मन जितेर नभइ मतपत्र लुटेर चुनाव जित्दै आएको आरोप लगाए ।

गच्छदार यसपटक चुनाव जितेर गएपनि संसद्‌ भवन छिर्न नपाउने भन्दै ओलीले आफ्नो मत खेर नफाल्न मतदातालाई आग्रह गरे । गच्छदारमाथि भ्रष्टाचार मुद्दा लागेको र निलम्बित व्यक्ति भएकाले उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार भगवती चौधरीलाई जिताउन ओलीले आग्रहसमेत गरे । सेटिङबाट धरौटीमा छुटेकोलाई कांग्रेसले उम्मेदवार बनाएको ओलीको आरोप छ ।

अध्यक्ष ओलीले कांग्रेसले चुनावी घोषणापत्रमा अरु कुरा गर्छन् हामी काम गर्छौ भनेर लेखेको भन्दै एउटा राम्रो काम गरेको देखाउन चुनौती दिए । उनले एमालेबाहेक अरु दलहरुले देश हाँक्न नसक्ने भन्दै एउटा सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय