काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ कात्तिक १८ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार शुक्रबार बाँडफाँट गर्ने जनाएको हो ।
कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ निष्कासन गरेको हो । जस मध्ये ५ प्रतिशत (३३ हजार ५१५ कित्ता) सामुहिक लगानी कोष र २ प्रतिशत (१३ हजार ४०६ कित्ता) सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन खुला गरेको थियो । कम्पनीको आइपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका थिए ।

इस्टर्न हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २५.२१ गुणा बढी आवेदन गरेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ ।
रेटिङ एजेन्सी केयर नेपालले इस्टर्नको आइपीओलाई ‘केयर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।- आर्थिक सन्देशबाट