कांग्रेसका चर्चित युवा नेताहरूलाई छानीछानी ओलीको यस्तो प्रस्ताव

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसभित्रको असन्तुष्टिमा राम्रैसँग खेल्न खोजेको पुष्टि भएको छ । यसपटक नेपाली कांग्रेसले जम्मा ९० क्षेत्रमा मात्र उम्मेदवार उठायो ।

सत्तागठबन्धनका कारण भागबन्डा गर्नुपर्दा ७५ निर्वाचन क्षेत्र अरु दललाई छाड्नुपर्दा धेरैले उम्मेदवारी दिने अवसर गुमाए । जसकारण कांग्रेसमा अलिअलि मतभेद देखिएकै हो ।

सर्लाही, चितवन, म्याग्दी, दोलखा, उदयपुर, पर्सालगायतका जिल्लामा कांग्रेसका बागी देखिएका छन् । यसले केही असर गर्ने देखिएको छ । त्यसमा पनि डा.मिनेन्द्र रिजाल, डा.स्वर्णिम वाग्ले, डा.गोविन्दराज पोखरेल, महेश आचार्य जस्ता नेताले टिकट पाएनन् ।

चितवन, प्युठान जस्ता कांग्रेसको जनाधार भएका जिल्लामा अरु दललाई भागबन्डा गर्नुपर्दा नेपाली कांग्रेसमा भविष्य बोकेका नेताहरू अवसरबाट वञ्चित भए । यही कमजोरीका कारण एमाले अध्यक्ष ओलीले कांग्रसभित्र खेल्न खाजेको पुष्टि भएको छ ।

अर्थविद् डा.स्वर्णिम वाग्लेले पनि एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएपछि ओलीको अनुहार उदांगिएको हो ।

वाग्लेले एमाले अध्यक्ष केपी ओलीले आफूलाई काठमाडौं ७ बाट प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेको रहस्य खुलाए । शनिबार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए।

उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी पाँच वर्षसम्म युवामाझ सक्रिय रहने बताए। ‘निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को पाँच वर्ष बिताउनेछु। टिकटको आकांक्षी थिएँ, नपाएपछि मलाई एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो।

यो कुरा म आज भन्न सक्छु,’ वाग्लेले भने, ‘काठमाडौं ७ बाट चुनाव लड्नुस्, हामी सहयोग गर्छौं, त्यहाँ कांग्रेसको उम्मेदवार पनि छैन, एमालेले तपाईंलाई सहयोग गर्छ, तपाईं शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो।

कुनै पार्टीले आफूले मागेको वेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्सन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न। मेरो तीनपुस्ते कांग्रेस नै हो।’ यसअघि ओलीले कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेललाई पनि यस्तै अफर गरेका थिए ।

उनले दाङबाट उम्मेदवार बने एमालेले सहयोग गर्ने बताएका थिए । पोखरेल प्युठानबाट टिकटका आकांक्षी थिए । ओलीले चितवन ३ मा एमालेको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरिसकेका छन् ।

कोइराला पनि कांग्रेसका केन्द्रीय सदस्य हुन् । यी त सार्वजनिक भएका विषय हुन्, भित्रभित्र ओलीले दर्जनभन्दा बढी कांग्रेसका युवा नेताहरूलाई ललिपप देखाएको स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय