निर्वाचन हुन एक महिना बाँकी, सुरक्षा तयारी तीव्र, कार्तिक ९ बाट म्यादी परिचालित हुने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अव ठिक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग, सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् । सरकारले आसन्न निर्वाचनका लागि सुरक्षा तयारी तीव्र पारेको छ ।

यसका लागि गृह मन्त्रालयले गाउँदेखि सहरसम्मका हरेक निर्वाचन स्थल र क्षेत्रमा भयरहित वातावरणमा मतदान सम्पन्न गराउन ४ वटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले निर्वाचनका लागि सरकारले विशेष सुरक्षा योजना बनाएर काम गरिरहेको भन्दै निर्वाचनमा करिब ३ लाख सुरक्षाकर्मी खटिने जानकारी दिनुभएको छ ।

गृह मन्त्रालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना बनाएर कार्यान्वयनमा लैजान देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्राचारसमेत गरिसकेको छ ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालयहरूले अहिले निर्वाचन विशेष सुरक्षा योजना जिल्लामा तयार पारिरहेका छन् । सुरक्षा योजना अनुरूप मतदान केन्द्रमा सुरक्षाकर्मीको परिचालन हुने भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षालाई लक्षित गर्दे आसन्न चुनावका लागि नेपाल प्रहरीबाट १ लाख ८६ हजार ६ सय ९३ जना प्रहरी र १ लाख १५ हजार म्यादी प्रहरी खटिने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकप्रसाद राईले बताउनुभयो । म्यादी प्रहरी कार्तिक ९ गतेबाट खटिने प्रवक्ता राईको भनाई छ ।

निर्वाचन सम्पन्न गर्नका लागि आन्तरिक र बाह्य चुनौती थुप्रै रहने गर्दछन् । यसपालि सुरक्षामा त्यति ठुलो चुनौती नदेखिएको सुरक्षा निकायको निष्कर्ष छ ।

तर पनि दलहरूबीच आन्तरिक तथा अन्तरदलमा हुनसक्ने विवाददेखि सामाजिक सञ्जालमा हुने आरोप प्रत्यारोप , तर्साउने, धम्क्याउने, उम्मेदवार तथा मतदातामाथि आक्रमण र प्रत्याक्रमणका घटना पनि हुन सक्छन् ।

त्यसतर्फ सुरक्षा निकायको बढी ध्यान रहेको र चार वटै सुरक्षा निकाय चनाखो र जिम्मेवार भएर परिचालन हुने प्रहरी प्रवक्ता राईको भनाई छ ।

यसै गरी सरकारले सीमा नाकामा कडाइ गर्नुका साथै सहर, बजार र गाउँ–गाउँमा पनि सिभिल तथा बर्दीमै सुरक्षाकर्मी खटाएको बताएको छ । सीमा नाकाको सुरक्षाका बारेमा गृहकार्य जारी रहेको राईले जानकारी दिनुभयो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । देशभर कूल १० हजार आठ सय ९१ र २२ हजार दुई सय २६ मतदान स्थल तोकिएको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सरकार तथा सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक आफ्नो आफ्नो काममा तीव्रता दिइरहेका छन् ।

निर्वाचन आयोगले मतपत्र लगायत निर्वाचन सामग्री जिल्ला जिल्लामा पठाउन थालिसकेको छ । त्यसैले पनि सुरक्षा व्यवस्था थप चुस्त दुरुस्त र कडा पार्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय