आगामी निर्वाचनलाई सामान्य रूपमा नलिनुः प्रचण्ड

काठमाडौँ :नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखापरेको बताए ।

नेकपा एमालेप्रति लक्षित गर्दै दाहालले संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरीतिर फेरि धकेल्ने कसरत गरिरहेको बताए । उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे ।

अध्यक्ष दाहालले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताउनु भयो । उहाँले आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने की हार्ने भन्ने कुराको निर्धारण गर्ने बताए ।

अध्यक्ष दाहालले गठबन्धनविरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैँ नबुझ्न आग्रह गरे ।‘मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै हुँदैछैन । किनकी केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखा परे ।

संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरीतिर फेरि धकेल्ने कसरतहरु भए । त्यो प्रवृत्ति, विचारका विरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो । अहिले दुई वटा विचार, प्रवृत्ति आमनेसामने भएका छन् ।

एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर । एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर । एउटा लोकतन्त्रका विरुद्ध अर्को लोकतन्त्रका पक्षमा । त्यसकारण ४ गतेको निर्वाचन सामान्य छैन ।

देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचनले । यसलाई गम्भीरतापूर्वक आत्मसाथ गरी जनताको बीचमा बुझाउन आग्रह गर्दछु । यहाँ विभिन्न प्रचारबाजी भएका छन् । गठबन्धन अहिले मात्रै बनको जसरी बुझ्नुपनि उचित हुँदैन,’दाहालले भने ।

अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर–७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलगायतका युवा नेतृत्व संसद्‍मा पुगेको खण्डमा ऐन, कानुन निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय