काठमाडौँ । एमालेका नेता भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।
रावलले काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरिरहेको भन्दै कडा आलोचना गर्नुभएको हो । रावलले आफूलाई टिकट नदिएकोप्रति भन्नुभयो, “अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको, सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिइयो । पार्टी पदाधिकारी र ओलीले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ ।”
पार्टीमा विधि र अनुशासन कायम नरहेको रावलको भनाई छ । उहाँले पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको बताउनुभएको छ ।
आफूलाई प्रतिनिधिसभा सदस्यका लागि अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका नेता र कार्यकर्ताको घोर अपमान भएको, पार्टीको हित र एकतामा आँच पु¥याएको रावलले बताउनुभयो ।