बुटवल : रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा निकै संघर्ष गरेर सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले प्रतिनिधिसभामा पाएको एक सिट पनि गुमेको छ ।
बैंकिङ कसुरमा कालोसूचीमा परेकालाई उम्मेदवार बनाउँदा समाजवादीको एक सिट घटेकाे छ भने रुपन्देही-२ मा गठबन्धन उम्मेदवारविहीन बनेको पुगेको छ ।

यहाँबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङविरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो । तोकिएको अवधिमा गुरुङले कालोसूचीबाट हटेको प्रमाण पेस नगरेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको छ ।
रुपन्देही २ मा नेकपा एमालेबाट विष्णु पौडेल उम्मेदवार छन् । गठबन्धनका उम्मेदवार अयोग्य भएपछि उनलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज भएको छ ।
हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा निकोलस भनिने कमल भुसालको उम्मेदवारीसमेत खारेज भएको छ । सरकारी सुविधा लिइरहेकै अवस्थामा उनी उम्मेदवार बनेका थिए ।