एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुँदै

काठमाडौं । नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ ।

आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म आफूले पार्टीको तर्फबाटै उम्मेदवार दिने बताइरहे पनि टिकट बाँडफाँटमा आफू पक्षका नेतालाई टिकट नदिएको रिसमा साहले स्वतन्त्र उम्मेदवार दिनुभएको हो ।

त्यस्तै, एमालेले केन्द्रीय सदस्य कुन्दन कुशवाहलाई रौतहट ३ ‘ख’बाट टिकट दिएको थियो । तर, अन्तिम समय आएर प्रभु साहसँगै उहाँले पनि स्वतन्त्र उम्मेदवार दिनुभएको छ । कुशवाहलाई पनि एमालेले पार्टी सदस्य नरहनेगरी कारबाही तयारी गरेको एमालेका एक नेताले जानकारी दिनुभयो ।

एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीविरुद्ध बागी उम्मेदवार दिनुभएकी गंगा चौधरी सत्गौवा पनि कारबाही सूचीमा पर्नुभएको छ । यसअघि, दुवै समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुभएको थियो । एमालेले शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिन्भएको हो ।

त्यस्तै, एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि अभिलेखबाट हटाएको छ । उहाँले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय