कांग्रेसले गठबन्धनका सहयोगी दलहरुलाई सिध्याउन खोज्यो : रामबाबु यादव

जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले गठबन्धनभित्र कांग्रेस सहयोगी दलहरुलाई सिध्याउने प्रयासमा लागेको बताएका छन् । कांग्रेसले आफ्नो नेताहरुलाई व्यवस्थापनका नाममा अन्य सहयोगी दलहरूलाई सिध्याउन खोजेको यादवले आरोप लगाए ।

‘मेरो नेता फलानो उसलाई व्यवस्थापन गर्नुपर्छ, भन्ने कांग्रेसको भनाइ छ । तर उहाँको नेता मात्रै सबै ठाँउमा छ, अनि अरु दललाई व्यवस्थापन गर्नुपर्दैन ? यहि विषयमा हाम्रो विमति हो । नेताको व्यवस्थापन भन्दा पहिला दलको सुनिश्चितता हुनुपर्छ, दलले नेताहरु व्यवस्थापन आफूभित्र गर्ने हो,’ उनले भने ।

गठबन्धनभित्र सिट बाँडफाँटमा असन्तुष्टि जनाएको जसपाले कांग्रेसले सहमति तोडेको आरोप लगाएको छ । ‘मधेश प्रदेशमा प्रतिनिधि सभा सदस्यमा कांग्रेसले ५० प्रतिशत सिट लिने र प्रदेशसभामा ५० प्रतिशत सिट जसपाले पाउने सहमती भएको थियो, तर कांग्रेसले सहमती तोड्ने काम गर्यो’ अध्यक्ष यादवले रातोपाटी सँगको कुराकानीमा भने ।

उनले अगाडि थपे, ‘यो प्रदेशमा हाम्रो सरकार भएकोले यो सरकारको निरन्तरताको सुनिश्चितताका लागि हामीले जितकै सिट नै २५ जति छ त्यो सिट कायम हुने र अन्य जित्ने ठाँउमा हाम्रो सुनिश्चित हुनुपर्छ।’

पछिल्लो समय गठबन्धनका दलहरुले संघीय निर्वाचन क्षेत्र अनुसार दलगत भागवण्डाको प्रारम्भिक खाका सार्वजनिक गरिसकेका छन् । जस मधेश प्रदेशमा संघतर्फ जसपाले ११, कांग्रेसले १५, माओवादी केन्द्रले ५ र नेकपा एसले २ पाउने गरी गठबन्धन कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँटको अन्तिम खाका तयार परेका छन् ।

तर यसअघि कार्यदलले गरेको सैद्धान्तिक सहमतिमा जसपाले १३ सिट पाउने सहमति भएको यादवले भनाइ छ । प्रदेशसभामा जसपाले ५० प्रतिशत माग गर्दै आएको छ । तर कार्यदलले सुरुमा २८ प्लसमा प्रस्ताव गरेपनि पछि घटाएर २२ मा झारेकोमा जसपाले आपत्ति जनाउँदै आएको छ ।

‘मधेश प्रदेशमा जसपालाई २८ प्लस सिट दिनुपर्छ भनेर तयार गरेको प्रतिवेदनमा उहाँहरु पछि हटेकोमा हाम्रो आपत्ति हो,’ उनले भने । ५ वर्षदेखि मधेश प्रदेशमा जसपाकै नेतृत्वमा सरकार सञ्चालन भएको छ । त्यो हिसाबले मधेश प्रदेशको आगामी नेतृत्व पनि जसपाकै हुनुपर्ने अध्यक्ष यादवले बताए ।

उनका अनुसार संघतर्फ कार्यदलले तयार गरेको प्रतिवेदनमा मधेश प्रदेशका ८ जिल्लामा जसपाले १३, कांग्रेसले १२, माओवादी केन्द्रले ५ र नेकपा एसले २ पाउने सहमति भएको थियो । कांग्रेस सहमतिबाट पछि हटेर जसपालाई ११ सिट मात्रै दिने निर्णय गरेकोले जसपाले गठबन्धनभित्र असहमति जनाएको यादवको भनाइ छ ।

पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति नमिले असोज २२ गतेसम्म गठबन्धन तोडिन सक्ने जसपाले जनाएको छ । ‘गठबन्धन हामीले कायम राख्न खोजेका छौँ,तर यस भन्दा बाहिरका दलले पनि हामीसँग सहकार्य गर्न खोजेका छन्, ती दललाई लिएर पनि गठबन्धन हुन सक्छ,’ उनले भने, ‘त्यो पनि भएन भने सहज वातावरणमा एक्लै चुनाव लड्न सक्छौँ, तर गठबन्धनसँग हाम्रो शत्रुता रहँदैन ।’

नागरिकताको विषयमा राष्ट्रपतिले चालेको कदममा एमाले सच्चिए उसँग पनि गठबन्धन हुनसक्ने यादवको भनाइ छ । ‘राष्ट्रपतिलाई इच्छाएको विद्येयक स्विकृत गर्ने/ईच्छा नभएको विद्येयक अस्वीकृत गर्ने अधिकार छैन । विद्येयकभित्र के छ त्यो संसदले खोतल्ने विषय हो ?,’ उनले भने ।

अहिलेको गठबन्धनको विकल्पमा अन्तिम समयसम्म एमाले वा लोसपासँग पनि गठबन्धन गर्न सक्ने उनले बताए । ‘राष्ट्रपतिको कदम दिन ठीक छैन भनेको दिन एमालेसँग हाम्रो सम्बन्ध राम्रो हुनसक्छ । चुनावमा तालमेल पनि हुन पनि सक्छ,’ अध्यक्ष यादवले भने ।

२०७४ को निर्वाचनमा मधेश प्रदेशमा ३ लाख मत ल्याएको जसपाले गएको स्थानीय तह निर्वाचनमा ५ लाख ५० हजार मत पाएको उनको दाबी । पालिका संख्या नथपिए पनि वडा संख्या दोब्बर पुगेको यादवको भनाइ छ । ‘गठबन्धन तोडिएर एक्लै निर्वाचनमा जानुपरे पनि मधेश प्रदेशमा ५० प्रतिशत सिट जसपाले सजिलैसँग जित्न सक्छ,’ यादवले भने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय