विवेकशील-साझाका ६ प्रदेश संयोजकले दिए राजीनामा, ५ जना राप्रपामा आउँदै

काठमाडौं । विवेकशील-साझा पार्टीका ६ जना प्रदेश संयोजकले पदबाट राजीनामा दिएका छन् । पूर्वअध्यक्ष रवीन्द्र मिश्रसँग निकट उनीहरुमध्ये ५ जना राप्रपामा आउने निधो भएको बुझिएको छ ।

राप्रपा र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता समारोह अहिले चलिरहेको छ । वरिष्ठ उपाध्यक्षका रुपमा राप्रपाको दोस्रो वरियतामा रहने गरी मिश्र सो पार्टीमा प्रवेश गरेका हुन् । उनीसँग विवेकशील-साझाबाट को-को आउँदैछन् भन्ने खुलाइएको छैन ।

स्रोतका अनुसार विवेकशील-साझाको प्रदेश १ बाहेक सबै प्रदेश संयोजकले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतो रहेका छन् ।

प्रदेश १ का इन्चार्ज प्रकाशचन्द्र परियार भने विवेकशील-साझामै रहनेछन् । उनलाई पार्टीले हालै प्रवक्ताको जिम्मेवारी दिएको छ ।
राजीनामा दिएका प्रदेश संयोजकमध्ये मधेसका महतोबाहेक सबैजना राप्रपा प्रवेश गर्ने निश्चित भइसकेको स्रोतले बतायो ।

महतो भने राजीनामा दिएपछि ढुलमुल गरिरहेका छन् । उनी आफू स्वतन्त्रै बस्ने बताए पनि एमालेले उनलाई एप्रोच गरिरहेको छ । यद्यपि, उनी आफूसँग आउनेमा मिश्र अझै आशावादी छन् । मिश्रसँगै विवेकशीलको हालको कार्यसमितिमा रहेका ४० जना राप्रपामा आउन तयार रहेको स्रोत बताउँछ ।

आज भइरहेको समारोहमा विवेकशीलका पूर्वकार्यसमिति सदस्यहरु निरुपमा यादव, उज्ज्वलकृष्ण श्रेष्ठ र लक्ष्मण घिमिरे मञ्चमै बसेका छन् । अन्य नेताहरु भने खुलिसकेका छैनन् । साथै, विवेकशीलबाट आउने नेताहरुको पद मिलानको काम पनि बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय