राणा र लोहनीबीच गोप्य मतदान, जित्यो कसले ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमै आज एउटा रोचक अभ्यास भएको छ । पार्टीले दुई वरिष्ठ नेताबीचको ‘रोलक्रम विवाद’ लाई कार्यसम्पादन समितिको बैठकले गोप्य मतदानबाट टुंग्यायो ।

राप्रपाका दुई पूर्वअध्यक्षहरु पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी यसपाली प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा नगर्ने मुडमा छन् । उनीहरु दुवैको नाम पार्टीले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्द सूचीमा समावेश छ । तर, बन्दसूचीमा अन्तिम संशोधन गर्दा दुईमध्ये कसको नाम अगाडि राख्ने भन्नेमा उनीहरुबीच जुंगाको लडाईं चलिरहेको थियो ।

स्रोतका अनुसार अहिले पेश गरिएको बन्द सूचीमा राप्रपाले धेरै हेरफेर गर्दैछ । अहिलेको सूचीमा नेताद्वय राणा र लोहनीलाई पछाडितिर राखिएको छ । तर, उनीहरु दुवैले आफूहरु एक–अर्काभन्दा अगाडि रहनुपर्ने अडान लिएका थिए ।

यो विवाद सुल्झाउनका लागि अध्यक्ष लिङदेनले नेताद्वयलाई नै जिम्मा दिएका थिए । ‘तपाईंहरुको विवाद तपाईंहरु आफैं मिलाउनुस’ भनेर अध्यक्षले अनुरोध गरे पनि उनीहरुबीच सहमति भएन । अन्ततः आज बसेको कार्यसम्पादन समितिको वैठकले मतदानबाट निर्णय लिएको हो । निर्वाचन समेत बनाएर गोप्य मतदान गराइएको स्रोतले बतायो ।

राप्रपाको कार्यसम्पादन समितिमा २१ जना सदस्यलाई मताधिकार रहेको छ । उनीहरुमध्ये अध्यक्ष लिङदेन आफैं निर्वाचन समितिमा बसे र मतदानमा सहभागी भएनन् । अर्का एकजना आमन्त्रित सदस्य मात्र भएकाले मत हाल्न पाएनन् । बाँकी २० जनाले मतदान गर्दा राणालाई ११ र र लोहनीलाई ९ भोट प्राप्त भयो । राणा दुई भोटले विजयी भए ।

आजको मतदान केवल बन्दसूचीका लागि मात्रै भएको स्रोतले बताएको छ । नेताद्वयबीच वरियताको विवाद भने किनारा लागेको छैन । जे भए पनि पार्टीले उच्चतम प्रजातान्त्रिक विधिबाट एउटा विवाद सल्टाएको भन्दै नेताहरु सन्तुष्ट बनेका छन् । – नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय