मौलिक बाजाको संरक्षणका लागि नौमती सांस्कृतिक महोत्सव हुँदै
गुल्मी । नेपाली मौलिक बाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्य सहित गुल्मीको मुसिकोटमा तेश्रो नौमती सांस्कृतिक महोत्सव हुने भएको छ । नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नौमती बाजा पछिल्लो समय पुस्तानान्तरण हुन नसक्दा विस्तारै लोप हुँदै गईरहेको गुनासो बढिरहेका बेला वामीमा नौमती बाजा महोत्सव गर्न लागिएको हो ।

वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले महोत्सवको आयोजना गर्न लागेको हो । समितिले प्रत्येक २ वर्षमा आयोजना गर्दै आईरहेको महोत्सव कोरोना महामारीका कारण यस वर्ष भने ४ वर्षपछि हुँदैछ ।

यही असौज २५ र २६ गते वामीमा महोत्सव आयोजना गर्न लागिएको वामी विश्व सम्पर्क मञ्च सांस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो । नौमती बाजाको संरक्षण सगैं स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले सांस्कृतिक महोत्सव आयोजना गरिएको उहाँको भनाई छ । प्रतयेक २ वर्षमा दशैको पूर्णीमाको द्धितिया तिथी र तृतीया तिथिमा कार्यक्रम गरी ऐतिहासिक मेलाकै रुपमा विकास गर्ने तैयारी भईरहेको उहाँले बताउनुभयो ।

दमै समुदायले विभिन्न शुभकार्यमा परम्परागत रुपमा बजाउने गरेको नौमति बाजाको संरक्षण र उत्थान गरी व्यवसायिक रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको समितिका महासविच हेमनाथ खरालले बताउनुभयो । ‘नौमती नेपालको प्राचिन र परम्परागत मौलिक बाजा हो ।’ उहाँले भन्नुभयो, ‘समय अनुसार नौमती बजाएर जिविकोपार्जन गर्नसक्ने अवस्था छैन, त्यसैले पनि नयाँ पुस्तामा सिप हस्तान्त्रण हुन नसकेर लोपोन्मुख अवस्था छ ।’ वामी विश्व सम्पर्क मञ्चले नेपालको पुरानो मौलिक नौमती बाजाको महत्व दर्शाएर नयाँ पुस्तामा सिप हस्तान्त्रण गराउन महोत्सव आयोजना गरिएको उहाँको भनाई छ ।

नौमतीबाजा प्रतियोगीता – पञ्चधातुबाट बनेको पञ्चेबाजा र नौग्रहको प्रतीकका रुपमा रहेको नौमती बाजा नेपाली संस्कृति र संस्कारमा मंगल कार्यका लागि उपयोग हुने गर्दछ । नौमती बाजाको संरक्षणकै लागि आयोजकले नौमति बाजा प्रतियोगीता समेत सञ्चालन गर्दैछ ।

नौमती बाजा मुल समारोह समिति सयोंजक नारायण सापकोटाले नौमती बाजालाई उत्कृष्ट बाजाका रुपमा विकास गर्न प्रतिस्पर्धात्मक रुपमा परिस्कृत गर्दै लैजानुपर्ने भएकाले महोत्सवको महत्व रहेको बताउनुभयो । उहाँले महोत्सवमा जुनसुकै ठाउँबाट पनि नौमती बाजाका समुह सहभागी हुन मिल्ने गरी नौमती बाजा प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतियोगीतामा प्रथम हुनेले नगद रु ५५ हजार ५ सय ५५, द्धितिय हुनेले नगद रु ४४ हजार ४ सय ४४ र तृतीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै सहभागी प्रत्येक समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँ र उत्कृष्ट सनाही बादकलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रोत्साहन पुरस्कारको समेत व्यवस्था आयोजकले गरेको छ

मुसिकोटका स्थानीय झाँकी प्रदर्शन– महोत्सवमा नौमती बाजा प्रतियोगीतासगैं मुसिकोट नगरपालिकाका विभिन्न समुदायमा रहेका स्थानीय संस्कृतिलाई समेत प्रवद्र्धन गर्ने उद्धेश्य आयोजकले राखेको छ । यस क्षेत्रमा ऐतिहासिक महत्व बोकेका सबै खाले संस्कृतिहरुको जगेर्ना र प्रवद्र्धन गर्ने उद्धेश्य सहित स्थानीय विभिन्न झाँकीहरु पनि प्रस्तुत हुँदैछन् ।

जसमध्ये मालारानीको घाटु, पुराना गाउँको ठाडो भाका, मैदान ठुलाखर्कको सयुंक्त भजन, बसेरीको सोरठी, पल्टारको हेम्फै नृत्य, वामीबजारको लाखे नाच, मुसिकोटको सरायँ नाच र भेंडुवाको कालि नाच समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको मुल आयोजक समिति सयोंजक नारायण सापकोटाले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्न सापकोटाको सयोंजकत्वमा १७ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

महोत्सवमा नेपालका चर्चित राष्ट्रिय कलाकार सहित स्थानीय कलाकार र अन्य विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

महोत्सवको रकम सामाजिक काममा  -मी विश्व सम्पर्क मञ्च सांस्कृतिक समितिले आयोजना गरेको यो तेश्रो नौमती महोत्सव हो । यस भन्दा अगाडी २०७२ साल र २०७५ सालमा महोत्सवको आयोजना गरिएको थियो ।

मञ्चले प्रथम महोत्सवबाट सकंलित रकम भुकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेको थियो । महासचिव खरेलका अनुसार २०७२ सालमा सम्पन्न प्रथम महोत्सवबाट सकंलित रकम मुसिकोट नगरपालिका अन्तर्गत रहेका ४ वटा विद्यालयलाई नगद ११ लाख रुपैया सहयोग गरेको थियो ।

अहिलेको महोत्सवमा त्यस्तो कुनै सहयोग अभियान नभएपनि महोत्सवकै प्रवद्र्धनका लागि खर्च गर्ने तैयारी भईरहेको उनले बताए । महोत्सव निरन्तर सञ्चालन गर्न अहिले समितिले अक्षय कोषको स्थापना गरेको छ । हालसम्म १२ लाख रुपैयाँ सकंलन भएको उनले जानकारी दिए । अहिलेको कार्यक्रम भने विभिन्न व्यक्ति तथा सघंसंस्थाहरुबाट सहयोग उठाएर गर्न लागिएको छ । उक्त कार्यक्रममा अक्षय कोषका संरक्षकहरुलाई समेत सम्मान गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय