काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनको सो निर्णयसँगै राजनीतिक दलका नेताहरु हच्किएका छन् । काठमाडौ क्षेत्र नं. ४ बाटै नेपाली कांग्रेसका महामन्त्री गगन थापा उठ्दै छन् । युवाहरु माझ उनलाई प्रभावशाली मानिन्छ । यता नेकपा एमालेका तर्फबाट विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि काठमाडौं–४ बाटै निर्वाचन लड्ने तयारीमा छन् । गत स्थानीय तहको चुनावमा स्वतन्त्रको लहर देखेका राजनीतिक दलका नेताहरु राधाको स्वतन्त्र उम्मेदवारीबाट तर्सिएका हुन् ।
माओवादी, नेकपा एमाले र राप्रपाले राधालाई आफ्नो चुनाव चिन्ह लिएर लड्न आग्रह गरेको पोखरेल बताउँछिन् । राजनीतिक दलहरुले आफ्नो दलको चुनाव चिन्ह लिएर जानुपर्यो भन्दै आग्रह गरिरहेको उनले बताइन् ।
गगन थापाले तपाईं पनि उठ्ने हो र किन उठ्नु पर्यो ? नउठ्नु भन्नुभयो, उनले भनिन् । एमालेले ४ नम्बरबाट भन्दा पनि काठमाडौं ६ नम्बर क्षेत्रबाट अर्थात महोत्तरी १ नं. क्षेत्रबाट उठ्न आग्रह गरेको राधाको भनाइ छ । राधाको जन्मथलो महोत्तरी हो । तर उनी काठमाडौं क्षेत्र नं. ४ मा विगत १२ वर्षदेखि बस्दै आएकी छन् ।
राधाका अनुसार माओवादीबाट गिरिराजमणी पोखरेलले आफ्नो पार्टीमा आउन आग्रह गरेको छ । पोखरेल भन्छिन्, ‘चार नम्बर क्षेत्रबाट मात्र होइन अन्य क्षेत्रमा पनि युवाहरु हाम्रो दलमा आउनुपर्छ भनिरहेका छन् । मैले स्थानीय तहकै निर्वाचनका लागि बुढानिलकण्ठबाट उपमेयरका लागि उम्मेदवारी दिने मनशाय बनाएकी थिएँ ।
तर धेरैले स्थानीय तहमा नखुम्ची, सेयर लगानीकर्ताको हकहितका लागि पनि संसदमा तेरो उपस्थिति हुनुपर्छ भनेपछि नउठेको हो । त्यही बेलादेखि नै आमागी निर्वाचनमा उठ्ने गरी तयारी गरिरहेको छु ।’
काठमाडौं क्षेत्र नम्बर ४ मा सेयर लगानी गर्ने लगानीकर्ताहरु डिम्याट खाता भएकाहरु मात्रै २४ हजार ५ सय भएको भन्दै आफूले तयही मतबाट जित्ने जनाइन् । राजनीतिक दलमा भएपछि काम गर्न सबैको अनुमति लिनुपर्ने भएकाले उनी स्तन्त्रमै उठ्ने पक्षमा छिन् । उनको परिवार भने एमाले निकट हो । -श्रोत नेपल प्रेस