असोज ३ सम्मका लागि सिट भागबन्डाको च्याप्टर क्लोज

काठमाडौं – चुनावी माहोल बनाउन मात्रै नभएर सत्ता गठबन्धनका लागि सिट बाँडफाँडको विषय पनि झन् झन् पेचिलो बनिरहेको छ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सिट बाँडफाँडको गृहकार्यमा जुटिरहेका छन्। तर, सिट मिलाउन सकिरहेका छैनन्। हरेक दिन बालुवाटारमा कार्यदल र शीर्ष नेताको बैठक बस्छ, तर सहमति जुट्दैन ।

गठबन्धनको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझाएपछि पनि शीर्ष तहको नेताहरू निरन्तर गृहकार्यमा जुटेका छन्। तर, हात लाग्यो शून्यकै अवस्था छ। दलहरू आआफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण भागवण्डा मिल्न सकेको छैन। एक सय ६५ निर्वाचन क्षेत्रमा अझै दुई सयभन्दा धेरै सिटको दाबी कायमै छ।

आधाजसो ठाउँको सिट बाँडफाँटमा सहमति बनेपछि कुनै क्षेत्रमा दुईदेखि तीन दलसम्मको दाबी कायमै छ। दलहरूको अडानकै कारणले सहजै गठबन्धनमा कस्सिएको गाँठो फुक्ने अवस्था देखिएको छैन।

एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार एउटा निर्वाचन क्षेत्रमा चारवटा दलको दाबी देखिएको छ । यसले पनि सहमति झन् टाढा हुँदै गएको छ । गठबन्धनमा सहभागी मधेसकेन्द्रित दल जसपाले सम्मानजनक ढंगले सिट बाँडफाँड नभएर गठबन्धनबाटै बाहिरिने चेतावनी दिइसकेको अवस्था छ। उसले ३२ सिटमा दाबी गरेको छ ।

नपाए गठबन्धनबाट बाहिरिने उसको तयारी छ । त्यसैले पनि अहिले असोज ३ गतेसम्म सिट बाँडफाँडको काम रोकिएको छ । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फ बन्दसूची बुझाउने समय तोकेको छ ।

अबको पाँच दिन दलहरूलाई समानुपातिक बन्दसूची तयार पार्न समय लाग्ने भएकाले हाललाई सिट बाँडफाँडको छलफल रोकिएको स्रोतले बतायो । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय