गठबन्धनभित्र सिट बाँडफाँटमा कति छ विवाद ?

पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि हुँदै आएको छलफल आइतबार पनि ठोस सहमतिमा पुग्न सकेको छैन । आइतबार बसेको गठबन्धनको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरे पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि बैठक सोमबारका लागि सारिएको छ ।

आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे समीक्षा भएको तर शीर्ष नेताको बीचमा कुरा नमिल्दा भोलि फेरि छलफल गर्ने गरी बैठक टुङ्ग्याइएको जसपाका नेता रामसहाय यादवले बताए मुख्यतः कसले कति सिट लिने भन्ने विषयमा कुरा नमिलेको उनको भनाइ छ । गठबन्धनमा रहेका दलले आफ्ना अडानमा केही लचकता देखाएको अवस्थामा सहमति जुट्न कठिन नभएको गठबन्धन घटककै अर्का एक नेताले बताए ।

तर नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका कारण गठबन्धनमा कुरा मिलाउन गाह्रो भइरहेको ती नेताको भनाइ छ । विगतमा जितेको सिटभन्दा बढी सिटमा नेकपा एकीकृत समाजवादी र जसपाले दाबी गरिरहेका छन् । त्यसका लागि नेकपा एकीकृत समाजवादीले एमालेले जितेका सबै सिटमा दाबी गरे जस्तै जसपाले पनि तत्कालीन राजपा (अहिलेको लोसपा) ले जितेको ठाउँमा दाबी गरिरहेको छ ।

गत चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राजपाबीच गठबन्धन भएर उम्मेदवारी दिइएको थियो । पछि यी दुई दल एकीकृत भएका थिए । तत्कालीन राजपाले जितेको ठाउँमा जसपाले आफ्नो सीट दाबी गरिरहेका कारण विवाद नमिलेको स्रोतको भनाइ छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि एमालेले जितेको अधिकांश ठाउँमा दाबी गरेको छ । नेपाली कांग्रेसले १०० सिटभन्दा तल नझर्ने दाबी छाडेको छैन तर छलफलमा भने उसले केही तलमाथि हुनसक्ने भन्दै आएको छ । कांग्रेस १०० सिटभन्दा तल झरेमा अन्य दल पनि आआफ्नो अडान छाडेर सहमतिको बिन्दुमा आउन सक्ने सम्भावना देखिएको छ । यस अनुसार कांग्रेसले ८०, माओवादी केन्द्रले ४०, नेकपा एकीकृत समाजवादी र जसपाले २२–२२ र राष्ट्रिय जनमोर्चाले एक सिटमा सहमति जनाउन सक्ने जसपाका एक नेताले बताए ।

ती नेताका अनुसार हालसम्म कुनै पनि दल आफ्नो अडानबाट पछाडि हटेको छैन तर अनौपचारिक छलफलमा सहमतिका लागि यसरी सिट बाँडफाँट गरेमा मिल्ने सम्भावना देखिएको उनले बताए ।

अन्य दलले सहमति गर्न तयार भए पनि कांग्रेसभित्रै समस्या देखिन्छ । कांग्रेसका अधिकांश नेताले १०० सिटभन्दा तल झर्नु हुँदैन भनेर नेतृत्वलाई दबाब दिँदै आएका छन् तर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले १०० भन्दा तल झर्न सकारात्मक रहेको संकेत दिएको बैठकमा सहभागी एक नेताले बताए ।- रातोपाटिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय