पहाडमा खान नपुगेर बसाई सरेको परिवारको बच्चा प्रचण्ड दुईपटक गणतन्त्र नेपालको प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरुको अठोटबाट मात्रै नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताएका छन् । आइतबार काठमाडौमा युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले हजारौ युवाहरुले अठोट गर्ने हो भने नेपाललाई आत्मनिर्भरसहितको सम्मृद्ध मुलुक बनाउन सकिने बताएका हुन् ।

‘सपना बनाउनुस्, दृढता राख्नुस्, लागि पर्नुस्, सफलता चुम्न आउँछ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले नेपाल र नेपालीका लागि कृषिमा आत्मनिर्भर हुने कुरा सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै ५०, ६० वर्षअघिसम्म कृषि सामग्री निर्यात गर्ने मुलुक अहिले आयात गर्नुपर्ने अवस्था आउनु ठुलो चिन्ताको विषय भएको बताए ।

उनले पैसा कमाउने र देशलाई सम्मृद्ध बनाउने कुरा एउटै नभएको भन्दै उनले भने, ‘अहिले भ्रष्टाचार, ठगीबाट छिटो पैसा कमाउने प्रवृति हावी हुने होइन त भन्ने खतरा देखिँदैछ । सम्पत्ति कमाउनु सभ्य हुनु होइन । सम्पति कसरी कमाइन्छ र सम्पति कसरी खर्च गरिन्छ ? त्यो महत्वपूर्ण कुरा हो’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले आफु पहाडमा खान नपुगेर चितवन बसाई सरेको प्रसंग निकाल्दै अहिले विगतलाई फर्केर हेर्दा अचम्म लाग्ने गरेको बताए ।

‘म तपाईहरुले हेर्नुभयो भने साँच्चै नै, पहाडमा खान नपुगेर चितवन बसाइसराइ गरेर आएको परिवारको एउटा बच्चा । दुईचोटी त प्रधानमन्त्री भइसकेँ गणतन्त्र नेपालको’, प्रचण्डले भने, ‘कसरी यो सम्भव भयो ? यसो हेर्यो भने आफैलाई सपना हो कि विपना जस्तो लाग्छ । तर हुँदो रहेछ ।’

उनले यसमा आफुलाई गौरवशाली ठानेको भन्दै विगतमा आफुले युद्धको कमाण्डर पनि भएको तथा युद्धलाई शान्तिमा रुपान्तरण गर्ने अवसर पनि पाएको बताए । ‘संविधान निर्माण गर्ने अवसर पनि प्राप्त भयो, संविधान जारी पछि पनि दोस्रो पटक प्रम भएर संविधान कार्यान्वयनको ऐतिहासिक अवसर पनि प्राप्त भयो’, एउटै व्यक्तिलाई यति धेरै युगान्तकारी अवसर प्राप्त भएको भन्दै यो सबै आफ्नो अठोटका कारण यो सवै सम्भव भएको बताए ।

अध्यक्ष प्रचण्डले आफु जीवनको उत्तरार्द्धमा आइपुगेको भन्दै अब आफ्नो अठोट मुलुकको समृद्धि मात्र रहेको बताए । – समाचार श्रोत रातोपाटि डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय