देउवाले भने- गठबन्धनको विरोध नगर्नू, यो कुनै हालतमा टुट्दैन

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस चितवनद्वारा शुक्रबार यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’ को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । देउवाले भने, ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।’

गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भने, ‘बल्ल-बल्ल पार्टी बलियो हुँदैछ, यसलाई सिध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’ गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा उनको जोड छ ।

‘गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।’

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए । पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन उनको आग्रह छ ।

गठबन्धन भएर सरकार बनेकै कारण एमालेको एकलौटी अन्त्य भएको उनको दाबी थियो । प्रधानमन्त्रीले भने, ‘उनीहरूको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन ।’

गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको भन्दै प्रम देउवाले भने, ‘हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनुपर्‍यो, हटाउनुपर्‍यो भनेको होइन सबैले ?’

प्रधानमन्त्री देउवाले भने, ‘अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।’

कतिपयले एमसीसीसँगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएकोमा उनको आपत्ति थियो । देउवाले भने, ‘खै विदेशी सेना आयो त ? अहिले विदेशी सेना आएको छ त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ? झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिध्याउन खोजेका हुन् । झुटा प्रचार गरेर हाम्रो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ, षड्यन्त्र भइरहेको छ ।’

सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको जानकारी गराए । – नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय