बालेनले लिए एकपछि अर्को एक्सन, कानुन हातमा लिनेको धन र प्रतिष्ठा दुवै गुम्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख बनेको पाँच महिनामै बालेन्द्र साह बालेनले अधूम मचाएका छन् । आजका दिनसम्म कानुनविपरीत सरकारी जग्गा मिच्ने, अवैध संरचना बनाउने, पर्खाल लगाउने, नक्सा पास नगरी भवन बनाउनेमाथि मेयर बालेनले कारबाहीको डण्डा बर्साउन थालेका छन् ।

उनले अहिलेसम्म जहाँ जहाँ हात हालेका छन्, त्यहाँ त्यहाँ सफलता पाइरहेका छन् । सुरुमा उनले काठमाडौंमा थुप्रिएको फोहोर तह लगाए । त्यसपछि फुटपाथ व्यवस्थित गरे । सँगै अन्डरग्राउन्ड पार्किङमा सफलता पाए । सरकारी जग्गामा बनेका अवैध संरचना हटाए । अब भने उनी सरकारी सीमा मिचेर बनाइएका पर्खाल हटाउने र नक्सा पास नगरी बनाइएका भवन व्यवस्थित गर्नतिर लागेका छन् ।

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायका भवनको नक्सा ९० दिनभित्र पेस गर्न भनेको छ।

महानगरपालिकाले मापदण्डअनुसार बनेका, तर नक्सा पास नभएका संरचनाको नक्सा ९० दिनभित्र पेस गरी स्वीकृत–नियमित गर्न भनेको छ।

‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत–नियमति गर्न सम्बद्ध सबै व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ’, महानगरले बिहीबार जारी गरेको सूचनामा भनिएको छ।

काठमाडौं महानगरपालिका नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डअनुरुप निर्माण भएका तर, नक्सा पास नगरिएका भवनहरुलाई एक वर्षभित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गर्ने नीति पारित भएको थियो। सोही नीति कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र महानगरपालिकाको निर्णयबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

महानगरपालिकाको यो एक्सनले कानुन नमान्नेको प्रतिष्ठा र धन दुवै दाउमा लाग्नेछ । बालेनको अहिलेको रफ्तार हेर्दा आगामी पाँच वर्षमा काठमाडौंको नक्सा नै परिवर्तन हुने संकेत देखापरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय