काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई तत्काल वंशजको नागरिकता दिनुपर्ने माग गरेका छन् । यसका लागि अर्को विधेयक तत्काल संसद्मा ल्याएर पारित गर्न उनले प्रस्ताव गरे ।
आज एक कार्यक्रममा बोल्दै ओलीले सरकारले अर्को विधेयक ल्याए एक हप्ताभित्र पास गर्न सकिने उल्लेख गरे ।‘अरू कुरा हटाएर यसलाई मात्रै सम्बोधन गरौँ । दुई वाक्य ल्याए पुग्छ । एक हप्ता पछाडिदेखि नागरिकता खुला । त्यो गर्न सकिन्छ,’ उनले भने ।

यदि सरकारले त्यस्तो विधेयक नल्याए आफ्नो पार्टीले ल्याउन पनि तयार रहेको उनले बताए ।
‘तपाईँहरू ल्याउनुहुन्न भने प्रतिपक्षले ल्याउँछ, निजी विधेयकको रूपमा । तपाईँहरूले सहयोग गर्नुस् । एक हप्ताभित्र पारित गरौँ । यो समस्या समाधान गर्न म चुनौती दिन चाहन्छु । यत्रो युवाहरू तड्पिरहेका छन् । खेलको विषय नबनाउनुस् ।’
उनले सरकारको विधेयकमा अरू विवादास्पद कुराहरू घुसाएर असफल बनाउन खोजिएको आरोप लगाए । राष्ट्रपतिले पठाएको सन्देशलाई उपेक्षा गरेकोमा पनि उनले गठबन्धनको आलोचना गरेका छन् ।