काठमाडौं – भक्तपुरमा प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्र छ । जसमा क्षेत्र नम्बर १ सधैं नेमकिपाले जित्दै आएको छ । भक्तपुरको कोर एरिया भएकाले १ नम्बर क्षेत्रमा अरु दलको दाल गल्दैन ।
नेमकिपापछि सो क्षेत्रमा नेपाली कांग्रेसको बढी मत छ । तेस्रोमा एमाले छ । राप्रपा पनि बलियो अवस्थामा छ । तर २ नम्बर क्षेत्रमा भने नेपाली कांग्रेस र एमालेको मत बराबरी छ । कहिले कांग्रेस त कहिले एमालेले जित्दै आएको छ । पछिल्लो पटक एमालेका महेश बस्नेतले चुनाव जितेका छन् । आगामी निर्वाचनमा भक्तपुर २ मा कांग्रेसका जिल्ला सभापतिसमेत रहेका दुर्लभ थापाले टिकट पाउने निश्चित छ ।

थापाको नाम कांग्रेसले सिफारिससमेत गरिसकेको छ । तर, माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा चुनावका लागि भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ ।
कांग्रेसको गढमा त्यो पनि एमालेका महेश बस्नेतलाई चुनौती कसैले दिन सक्छ भने त्यो दुर्लभ थापाले मात्र दिन सक्छन् । तर माओवादीका दीपशिखाले किन यस्तो रहर गरेका हुन् भन्ने बुझ्न सकिएको छैन ।
भक्तपुर २ मा कांग्रेसले गठबन्धनका नाममा अरु दललाई नछाड्ने भएको छ । किनभने मध्यपुर थिमी नगरपालिका मात्र होइन,सूर्यविनायक नगरपालिकामा पनि कांग्रेसको अवस्था मजबुत नै छ ।- मिडिया डबली