आमाले ज्याला मजदुरी गरेर पढाएको छोराले ल्याए कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा

म्याग्दी : पर्वतको जलजला गाउँपालिका–४,की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी छन्।

चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा समस्या हुने चिन्ताले सधैँ सताइरहने परियारले गएको शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दिपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुसीको आँसु थाम्न सकिनन्।

निरन्तर दुःखसँग पौँठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।

अनेक अभावका बावजुद पनि छोराको पढाईमा अभाव हुन नदिएकी सबिताका खुशीका आँशु झारेर नै रुन थालेपछि पर्वत जिल्लाको निजी तथा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका छोरा सन्दिपले आमाको सपना पूरा गर्ने बताउँदै सम्हाले।

उनको जिन्दगीमा ‘श्रीमान नामको पुरुष प्रवेश गरेपनि कलिलै उमेर देखि श्रीमानको झगडा, अतिरिक्त दुःख र मानसिक, शारीरिक यातनाले कहिल्यै सुख भन्ने महसुस गर्न पाइनन्। श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाईमा समेत अवरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दै छोराछोरीसँगै घर छोडिन्।

श्रीमानको दुई बर्ष अगाडी अत्याधिक मदिरा सेवनकै कारण मृत्यु भएपछि दुःखका बलिन्द्रधारा आँसु झारेर दैनिकी बिताइरहेकी उनलाई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भयो। जिवित हुँदा श्रीमानको कहिल्यै साथ नपाएकी सबिताले मृत्युपछिको दैनिकी झन् पहाडले थिचेजस्तै भयो।

अहिले बिहानैदेखि रातीसम्म सबिताले छोराछोरीका लागि गर्ने मेहनत देखेर छिमेकी समेत दंग पर्छन्।घरमा बस्दा उनले सिलाई कटाई र बाहिर जाँदा पलाष्टर देखि निर्माण सम्बन्धि काममा व्यस्त हुने सबितालाई कामले भने कहिल्यै पीडा महसुस भएनन्। गाउँकै विपन्न परिवारकी सबिताले पर्वतबेनी र म्याग्दीको सदरमुकाम बेनीमा निर्माण क्षेत्र, व्यक्तिको घरमा काम गरेर छोराको उच्च शिक्षा पूरा गरेको बताइन्।‘घरमा नियमित कमाई छैन,‘ज्यालामजदुरीबाटै छोराको उच्च शिक्षा पूरा गरे, अबको यात्रा थप चुनौतीपूर्ण छ‘ सबिताले भनिन्।

उनले दुखः कष्ट र पीडासँगै दैनिक मजदुरीमा बगाएको पसिनालाई सम्झिएर छोराले उच्च शिक्षामा नतिजा ल्याउन सफल भएकोमा निकै खुसी लागेको बताइन्।‘मेरो कमाईले घरखर्च चल्छ, छोराछोरीको पढाईमा सहयोगीदाता भए थप सहज हुने थियो’ सबिताले भनिन्। उनले कक्षा १२ सम्म दक्षिण कोरियामा रहेका सुनिल बरुवालले छात्रवृद्धिको सुविधाले सहज भएपनि अब छोराको क्याम्पस तहको शिक्षा र छोरीलाई आवश्यक पर्ने खर्चको जोहो गर्न अझै कठोर मजदुरी गर्नुपर्ने अवस्था आएको बताइन्।

उनले छोरालाई व्यवस्थापन संकायमा स्नातकसँगै लोकसेवा आयोगबाट निजामति सेवामा प्रवेश गराउने आफ्नो अन्तिम चाहना रहेको बताइन्।‘छोरालाई सरकारी पोशाकमा घरमा आएको देख्न चाहन्छु,‘मेरो चाहना र उसको लक्ष्य एउटै छ’ सबिताले भनिन्। यता सन्दिपले समेत आफ्नो आमाको सबै इच्छालाई पूरा गरेरै छोड्ने बताए।

‘आमाको चाहनामा मैले मेहनत गरेको छु,‘उहाँको सपना पूरा हुदाँको दिनमा मैले लक्ष्य भेटाएको ठान्ने छु’ सन्दिपले भने। उनले आफ्नो पढाईका लागि आमाले आँसु पिएरमात्रै बाँच्नुपर्ने अवस्था अझै आँखामा घुम्ने गरेको बताए। आफूले कमाउने आधार बनाएपछि आमालाई दैनिक ज्यालामजदुरीको कामबाट अलग गर्ने सन्दीपको पहिलो लक्ष्य छ। यता विद्याज्योतिका प्रअ रघुनाथ आचार्यले सन्दिप लगनशील, मिहनेती तथा अनुशासित छात्रका रूपमा रहेको बताए।

उनले प्रयाप्त स्रोतसाधन र वातावरण भएमा भविस्यमा जिल्लाकै उत्कृष्ट जनशक्ती बन्न सक्ने बताए। उनले विद्यालयले हरेक यात्रामा साथ दिने प्रतिबद्धता समेत जनाए। म्याग्दी बहुमुखी क्याम्पसमा निःशुल्क पढाउने प्रस्ताव गरिएपनि अन्य खर्च आवश्यकता भएकाले सहयोगी मनलाई सन्दिपको शिक्षामा सहज हुने गरी सहयोग गर्न समेत अपिल गरेका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय