प्रचण्डकी बुहारी विरुद्ध कांग्रेसका विष्ट चुनाव लड्ने

काठमाडौं– कञ्चनपुर–१ मा प्रतिनिधिसभा उम्मेदवारका लागि नेपाली कांग्रेसले दिवानसिंह विष्टको एकल नाम सिफारिस गरेको छ ।

यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर विजयी भएकी थिइन्। कांग्रेस क्षेत्रीय समितिको बैठकले संविधानसभा सदस्य विष्टलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि तयार पारेको हो ।

अघिल्लो निर्वाचनमा विस्टलाई मगरले १९ हजार ५ सय ८४ मतान्तरले पराजित गरेकी थिइन् । ३९ हजार २१ मत प्राप्त गरेर मगर विजयी हुँदा विष्टले १९ हजार ४३७ मत ल्याएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारीसमेत रहेकी विना मगरको लागि अहिले गठबन्धनभित्र यस क्षेत्रमा माओवादीले सशक्त दाबी गरिरहेको छ । विना मगरको क्षेत्रमा कांग्रेसले उम्मेदवार सार्वजनिक गरिसक्दा माओवादीले भने सिफारिस गरिसकेको छैन ।

२१ गतेभित्र सिफारिस प्रक्रिया टुंग्याइने एक नेताले बताए । कांग्रेसभित्र भने गठबन्धनको भावना अनुसार अगाडि बढ्ने रणनीतिका साथ केन्द्रको परिपत्र अनुसार सबै क्षेत्रका उम्मेदवार सिफारिस गरिरहेको जिल्ला सचिव भीम भट्टले बताए ।

भोलि केन्द्रीय गठबन्धनको निर्णय अनुसार आफूहरूले छाड्नुपर्ने हुनसक्ने उनले बताए । प्रतिनिधिसभामा एकल नाम सिफारिस भएका विष्टले भने क्षेत्र नम्बर १ मा माओवादी कमजोर रहेको दाबी गरे ।

उनले आफ्नो क्षेत्रमा तालमेल नगर्ने निर्णयसमेत भएको सुनाए । गत स्थानीय तहको चुनाव यहाँ नेकपा एमाले पहिलो पार्टी बनेको छ । यो क्षेत्रमा एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादीको १५ हजार २८९, नेकपा एसको ३ हजार ५२१, र राप्रपाको २ हजार ६९२ मत थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय