यी बाबु छोरी दुबैले प्रतिनिधिसभा निर्वाचनमा दिँदैछन् स्वतन्त्र उम्मेदवारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ४ मंसिरमा हुँदै छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै देशभर चुनावी सरगर्मी बढेको छ ।

गत साउन १९ मा बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेको थियो । निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न दलका नेता-कार्यकर्तादेखि स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरिरहेकाहरू उत्साहित बनेका छन् ।

कतिपयले सामाजिक सञ्जालमार्फत धमाधम उम्मेदवरी घोषणा गरिरहेका छन् । दलका नेताहरूको टिकटका लागि दौडधूप बाक्लिएको छ । यस्तै, निर्वाचनमा भाग लिने दहरूको देशभरबाट टिकटका लागि नाम सिफारिसको प्रक्रिया चलिरहेको छ । स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेकाहरू सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै आफ्नो पक्षमा चुनावी माहोल बनाउन ब्यस्त देखिन्छन् ।

त्यस्तै, बागमती प्रदेशको राजधानीसमेत रहेको जिल्ला मकवानपुरमा पनि आकांक्षीहरूको चर्चा सुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दलले उम्मेदवार टुङ्गो लगाउन नपाउँदै स्वतन्त्र रूपमा उम्मेदवारको तयारी गरिरहेकाहरूको चर्चा सुरु भएको हो ।

रोचक त के छ भने मकवानपुरबाट बाबु-छोरी नै उम्मेदवार बन्दै छन् । स्वतन्त्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेपछि मकवानपुरमा उनीहरूको चर्चा चुलिएको छ । मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ वटा मात्रै छन् । मकवानपुरमा क्षेत्र नम्बर १ मा छोरी र क्षेत्र नम्बर २ का लागि बुवाको उम्मेदवारी रहने घोषणा गरेको हुन् ।

उनीहरूको घोषणाले मकवानपुरमा रौनकता थपेको छ । मकवानपुरको क्षेत्र नम्बर २ बाट बुवा राकेशकुमार शर्माले उम्मेदवारी दिने घोषणा गरेका हुन् । त्यस्तै, मकवानपुरकै क्षेत्र नम्बर १ बाट उनकै छोरी दिपीका शर्माले उम्मेदवारी दिने बताएकी छन् ।

बावु-छोरी नै अहिले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै मत दिन आग्रह गर्दै आइरहेका छन् । राकेश ५२ वर्षका हुन् भने उनकी छोरी दिपीका २९ वर्षकी भइन् । देश विकासका लागि आफूहरूजस्तो स्वतन्त्र व्यक्तिको नेतृत्व चाहिने भन्दै उम्मेदवारी दिने तयारी गरिएको उनीहरू बताउँछन् ।

दिपीकाले फोहोरी राजनीतिक दलदलबाट बाहिर रहेर जनताको पक्षमा वकालत गर्नका निम्ति उम्मेदवारी घोषणा गरेको बताउँछिन् । आफ्नो उम्मेदवारी युवा नेतृत्व आउनुपर्छ भन्ने रहको बताउँदै उनले थपिन्, ‘बूढापाका नेताले केही पनि गरेनन् । अब पार्टीमा लागेरभन्दा पनि जनताको पक्षमा लागेर काम गर्नुपर्छ भन्ने लागेर उम्मेदवारी घोषणा गरेकी हुँ ।’

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा बर्दियाको गुलरिया नगरपालिकाको लागि स्वतन्त्रबाट धारा चुनावचिह्न लिएर मेयर पदमा उम्मेदवारी दिएकी उनले १३ मत मात्रै प्राप्त गरिन् । त्यसपछि आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ रोजेकी हुन् ।

त्यस्तै, क्षेत्र नम्बर २ का लागि उम्मेदवारी घोषणा गरेका राकेश पटकपटक निर्वाचनमा उम्मेदवारी दिँदै आइरहेका व्यक्ति हुन् । उनले पहिलो संविधानसभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचनमा लडेका थिए । पहिलो संविधानसभाको उपनिर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचनमा लडेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचनमा समेत सहभागी भएका थिए ।

त्यस्तै, ०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका निर्वाचनमा मेयर पदका लागि उम्मेदवारी दिएका उनी त्यतिबेला पनि पराजित भए । तर, आगामी निर्वाचनमा प्रतिनिधिसभामा पुग्न सके देश विकासकै लागि समय खर्चिने उनी बताउँदै आएका छन् । सुनिता विष्ट/हेटाैंडा, फरकधार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय