कसैलाई छुट नदिने मुडमा बालेन- आफ्नै साथीहरूका रेस्टुरेन्टमाथि एक्सन

काठमाडौं । काठमाडौं महानगरभित्र रहेका अवैध संरचना हटाउने अभियानमा रहेका मेयर बालेन साहले कुनै पनि प्रभाव र दबाब नपर्ने संकेत देखाएका छन् । उनले आफ्नै ‘जिग्री’ साथीहरूलाई पनि उन्मुक्ति दिएनन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको भवनमा सन्तोषकुमार थापाको थकाली रेस्टुरेन्ट थियो । मेयर साहका जिग्री दोस्त हुन् सन्तोष । तर, अवैध स्थानमा व्यवसाय गरेको भन्दै बालेनले उनको रेस्टुरेन्ट खाली गर्न लगाए ।

सन्तोषको रेस्टुरेन्ट सो भवनको बेसमेन्टमा थियो । नक्शामा पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्ट अन्य व्यवसायमा प्रयोग गरेको पाइएपछि बालेनले हटाउन निर्देशन दिएका थिए । त्यसबमोजिम आज आफैंले रेस्टुरेन्ट हटाएको थापाले फेसबुकबाट जानकारी दिएका छन् ।

बालेनको चुनावी अभियानका क्रममा उनीहरूको टीमको थुप्रै छलफल र मिटिङहरू यही रेस्टरेन्टमा भएका थिए । बालेनका निकट सहयोगी कुमार बेनका अनुसार चुनावमा समेत सन्तोषले उनीहरूको टीमकै सदस्यका रूपमा सहयोग गरेका थिए । तर, नियम मिचेर व्यवसाय गर्न नदिने मेयरको अडानका कारण साथी भनेर छुट नपाएकाे बेनले बताए ।

दरबारमार्गस्थित लन्डन पब पनि हटाउन निर्देशन दिइएको छ । बेनका अनुसार उक्त पबका सञ्चालक सुरज बालेनका नजिकका साथी हुन् । बेसमेन्टमा सञ्चालन भएका कारण लन्डन पब खाली गराउन महानगरले निर्देशन दिएको हो । यसैगरी शंखमूलमा रहेको बर्गर हाउस पनि आफ्नै साथी सञ्चालक हुनुका बाबजुद बालेनले खाली गर्न लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय