काठमाडौं – काठमाडौंमा १० निर्वाचन क्षेत्र छन् । अघिल्लो आमनिर्वाचनमा वाम गठबन्धन हुँदा एमालेका ६ जनाले चुनाव जितेका थिए । ए
मालेले काठमाडौं २, ३, ५, ७, ८ र ९ मा चुनावमा जितेको थियो । माओवादी केन्द्रका उम्मेदवार कोही पनि विजयी भएनन् । वाम गठबन्धन हुँदा पनि नेपाली कांग्रेसका चारजनाले चुनाव जितेका थिए । सबै कम्युनिस्ट एक हुँदा पनि काठमाडौं १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ६ मा भीमसेनदास प्रधान र १० मा राजन केसीले चुनाव जितेका थिए । यी चारवटै निर्वाचनमा अहिले पनि कांग्रेसले जित्ने निश्चित छ ।
तर, काठमाडौंमा १० हजार मत नभएको माओवादी अहिले तीन सिट चाहियो भन्दै घुर्की लगाएर बसेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं ३, ६ र ९ क्षेत्र आफूले पाउनुपर्ने भन्दै बार्गेनिङ गरिरहेका छन् ।
कतिसम्म भने काठमाडौं ३ कांग्रेस र एमालेको गढ हो । यहाँ दुवै पार्टीका बराबरी मतदाता छन् । तर, प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मोहरा बनाएर चर्चामा ल्याएका छन् ।
मंगलबार बेलुकादेखि घिसिङलाई काठमाडौं ३ बाट माओवादीले उम्मेदवार उठाउने भनेर प्रचार गर्न थालिएको छ । नेपाल विद्युत प्राधिकरणमा धेरै परिवर्तन गरेर लोकप्रियता कमाएका घिसिङलाई उम्मेदवार बनाउन सके काठमाडौंमा गुमेको जनमत फर्किने झिनो आस प्रचण्डमा देखिन्छ ।
जबकि काठमाडौंबाट माओवादी संगठन करिब करिब पत्तासाफ भइसकेको छ । माओवादीले काठमाडौं १ बाट अनिल शर्मा, ३ बाट कुलमान घिसिङ, ६ बाट हिमाल शर्मा, ९ बाट हितमान शाक्यलाई उठाउने चर्चा छ ।
तर, गठबन्धन कार्यदलले भागबन्डा नलगाएकाले कुन कुन निर्वाचन क्षेत्र पाउने भन्ने निश्चित छैन । उता, एकीकृत समाजवादीले भने काठमाडौं २, ५ र ८ मा दाबी गरिरहेको छ ।
२ मा माधवकुमार नेपाल, ५ बाट सुदेश पराजुली र ८ बाट जीवनराम श्रेष्ठलाई उठाउने एकीकृत समाजवादीको तयारी छ । – मिडिया डबली