एमालेको चुनावी फन्डाः बाहिर बाहिर आफ्नो बहुमत आउँछ भन्ने, भित्रभित्र कांग्रेसलाई उकास्ने

काठमाडौं । देश आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोलमा होमिइसकेको छ । प्रायः सबै राजनीतिक दल चुनाव केन्द्रित भएका छन् । विगतमा यतिबेला चुनावको रमझम भइसक्थ्यो । तर, यसपटक ठूला दलबीच गठबन्धन कायम भएकाले अझै चुनावी रौनक सुरु भइसकेको छैन । फेरि वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणामले पनि दलहरूलाई खुलेर चुनावी अभियानमा लाग्न ब्रेक लगाएको छ ।

तर पनि दलहरू आन्तरिक हिसाबकिताबमा लागेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपाका साथै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला आन्तरिक अभियानमा लागेका छन् । कांग्रेस र एमाले भने जिल्ला जिल्ला पुगिसकेका छन् । तर, अन्य दल भने खुलेर प्रस्तुत हुन सकेका छैनन् ।

यो देशमा सरकार बनाउने भनेकै कांग्रेस र एमालेले हो । त्यसैले यी दुई दलले के कस्ता रणनीति अख्तियार गर्लान् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ । कांग्रेस र एमालेले केन्द्रीय समिति बैठकसमेत सकिसकेका छन् । र, अब जिल्ला जिल्लामा जाने रणनीति बनाएका छन् ।

यतिबेला सबैभन्दा ठूलो सकसमा कांग्रेस र एमाले नै परेका छन् । किनभने कुनै गठबन्धन नगरी चुनावमा जाने हो भने कांग्रेस एक्लैले ८० सिट प्रत्यक्षमा जित्ने अनुमान गरिएको छ । तर, कांग्रेसलाई पाँचदलीय गठबन्धनले साह्रै ठूलो सकसमा पारेको छ । यही तथ्य बुझेर अहिले एमाले नेताहरूको निदहराम भएको छ ।

प्रदेश १, मधेस र बागमती प्रदेशमा सबैभन्दा धेरै सिट कांग्रेसले जित्ने एमालेको आन्तरिक प्रक्षेपण छ । एमाले अहिलेसम्म लुम्बिनी प्रदेशमा मात्र अगाडि देखिएको छ । एमाले बलियो भनिएको गण्डकीमा पनि कांग्रेसको संगठन सुदृढ भएको एमाले विश्लेषण छ । एमालेले कुनै गठबन्धन नगरी सबै दल एक्लाएक्लै चुनावमा गए कांग्रेसले ३२ सिट भएको मधेस प्रदेशमा २० सिट जित्ने प्रक्षेपण गरेको छ । बागमती प्रदेशमा सात–आठ सिटबाहेक सबै कांग्रेसले जित्ने एमाले नेताहरू बताउँछन् ।

स्रोतका अनुसार एमालेले चितवन, दोलखा र धादिङमा मात्र आफू बलियो भएको प्रक्षेपण गरेको छ । उसले सिन्धुपाल्चोकमा एक, काभ्रेमा मुस्किलले एक, काठमाडौं, मकवानपुर, नुवाकोट र ललितपुरमा शून्य, रसुवा र भक्तपुरमा पनि कांग्रेसले जित्ने आन्तरिक विश्लेषण गरेको छ । रामेछाप र सिन्धुलीमा एक सिट कांग्रेसले जित्ने एमाले नेताहरू नै बताउँछन् । सुदू्ररपश्चिम प्रदेशमा एमालेको भोट एकीकृत समाजवादीले काट्ने भएकाले कांग्रेस त्यहाँ पनि ठूलो दल बन्न सक्ने अनुमान गरेको छ ।

सोही कारण यतिबेला एमाले नेताहरू मुखले आफ्नो बहुमत आउँछ भन्ने भित्रभित्र कांग्रेसलाई गठबन्धन नगरी एक्लै चुनाव लड्न उकासिरहेका छन् । यदि कुनै गठबन्धन भएन भने दोस्रो ठूलो दल आफू बन्ने एमालेको रणनीति छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय